मुसीकोट । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरीद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ छ ।
अहिले उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमै बित्ने गरेको छ । २० क्वीन्टल अदुवाको बीउ लगाएका उनले अहिलेसम्म ८० क्वीन्टल अदुवा निकालिसकेका छन् । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा लागेको खड्का बताउँछन् । ‘व्यापारीहरू रू. तीन हजारमा एक क्वीन्टल अदुवा घरमै पुगेर खरीद गर्नआउँछन्’ उनले भने, ‘बजारको कुनै समस्या छैन । किसानको घरमै व्यापारी पुगेर अदुवा खरीद गरेपछि हामीलाई पनि सजिलो भएको छ ।’
पछिल्लो समय गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरीद गर्न गाउँसम्मै पुग्ने गर्छन् । गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा रू. दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्छन् । पोखरीगाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिक रूपमा अदुवाखेती गरेका छन् ।
गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा संकलन गरी जिल्ला बाहिर निर्यात गरिन्छ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा तुलनात्मक रूपमा बढी अदुवा उत्पादन हुन्छ । अदुवा बेचेरै गाउँमा करोडौं रकम भित्रिने गरेको छ । जिल्लामा उत्पादन हुने अदुवाको मूल्य निर्धारण नहुँदा अदुवाको मूल्यमा एकरूपता छैन । व्यापारीले किसानबाट फरक–फरक मूल्यमा अदुवा खरीद गर्ने गरेका छन् । रासस