सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीलाई सम्मान गरेको छ । ११औं राष्ट्रिय कर दिवसको अवसरमा बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा बढी आयकर तिर्ने प्रदेशका पाँच व्यवसायीलाई सम्मान गरिएको हो । कार्यालयबाट सम्मानित हुनेमा ज्वाला कलर बैंक एण्ड अर्डर सप्लायर्स सुर्खेतका सञ्चालक कमलप्रसाद जैसी, माँ मनोकामना इन्टरप्राइजेज एण्ड अर्डर सप्लायर्स दैलेखका सञ्चालक रविन कायस्थ, रमेश अटो सप्लायर्स एण्ड सर्भिसिङ सेन्टर जाजरकोटका सञ्चालक रमेश केसी, मुक्तिडोमा जनरल स्टोर्स हुम्लाका सञ्चालक टेकबहादुर लामा र मौसम एण्ड हरिस निर्माण सेवा डोल्पाका सञ्चालक गणेशबहादुर शाही छन् ।
कर दिवसको अवसरमा आन्तरिक राजस्व कर्यालयमा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने डाइसु निर्मला गिरिलाई नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाइएको राष्ट्रिय कर दिवस यस वर्ष ‘स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ मूल नारा थियो ।
कार्यक्रममा कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोड दिएर कराधार फराकिलो बनाउँदै जानुपर्नेमा जोड दिइएको थियो ।