ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई गठबन्धनका उम्मेदवारलाई हराए, सार्वजनिक शौचालयबाटै काम थाले

२०७९ मंसिर, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका दलका उम्मेदवार अबिरमाला लगाएर गाउँगाउँमा विजय जुलुस निकाल्न व्यस्त छन् । तर मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका योगेन्द्र मण्डल ‘जोगी’लाई भने आफ्नो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयको शौचालय सफाइ गर्नै भ्याइनभ्याइ छ ।

सांसदमा विजयी भएको प्रमाणपत्र बुझेको भोलिपल्टदेखि नै उनी शौचालय सफाइका सामग्री लिएर विद्यालय–विद्यालय पुगिरहेका छन् । यसमा उनलाई केहीले साथ दिएका छन् । अहिलेसम्म उनले दुई मदरसासहित १८ ओटा सामुदायिक विद्यालयका शौचालय सफा गरिसके । ‘जनताको काम यसले गर्छ भन्ने विश्वासले नै मलाई भोट दिएर जिताएका हुन्,’ मण्डलले भने, ‘त्यसैले मैले जनताको काम गर्ने हो, विजय जुलुस निकालेर समय किन बर्बाद गर्ने ?’ विद्यालयको शौचालयबाट मैले सरसफाइ र सभ्यताको थिति बसाल्ने प्रयास गरेको हुँ ।’

दुई ठूला दलहरूको गठबन्धन, त्यसमा पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले यसअघि जितेको क्षेत्र मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर जित्न मण्डललाई सजिलो थिएन । तर समाजसेवामा भिजेका उनले हिम्मत गरे । उनले चुनाव चिह्न चापाकल पाएका थिए ।

सत्ता गठबन्धनसहितको माओवादीबाट उम्मेदवार थिए शिवकुमार मण्डल । त्यस्तै एमालेसँगको गठबन्धनबाट उम्मेदवार थिए जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव । मण्डल आफ्नो टोली लिएर मत माग्न घरघर पुगे । उनको संस्था जीवन विकास समाजमा ३०औं हजार सदस्य आबद्ध छन् । यही जगमा निर्वाचनमा उठेका उनले अन्तत: २१ हजार ८२० मत ल्याएर दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गरे ।

राजनीतिक दलका परीक्षण भइसकेका नेताभन्दा विकासप्रेमी र समाजसेवी उम्मेदवारको लहर चलिरहेका बेला ‘जोगी’ मतदाताको विकल्प बने । निर्वाचन क्षेत्र र उनको कर्म क्षेत्र एउटै भएकाले उनले वर्षाैंदेखि स्थानीयको आवश्यकता र माग बुझेका थिए । त्यसैलाई उनले चुनावी मुद्दा बनाए । मण्डलले २१ हजार ८२० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमारले १७ हजार ४८६ र एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमारले १७ हजार ३ सय ९० मत ल्याए । विज्ञान संकायमा स्नातक गरेका ५१ वर्षीय मण्डल क्षेत्र नं ५ का परिचित समाजसेवी हुन् । उनले जीवन विकास समाजको नाममा विपन्न परिवारको घर निर्माणमा सहयोग, रोजगारी सृजना र न्यूनतम शुल्कमा पढाउनेगरी धनमपालथानमा विद्यालय सञ्चालन गर्दै आएका छन् । सो क्षेत्रमा उनले कृषि कार्यक्रम पनि चलाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)