ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा बैंकहरूको लगानी साढे ५ खर्ब

२०७९ मंसिर, २२  
शेयर / बैङ्किङ गतिविधि कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप करीब ६ प्रतिशतले बढ्दा कर्जा लगानीमा १३ प्रतिशतले वृद्धि भएको छ । वित्तीय सेवाको पहुँच विस्तार र बैंकिङ कारोबारमा सर्वसाधारण अभ्यस्त बन्दै गएपछि बैंकिङ कारोबार बढेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकको विराटनगर कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधि सम्बन्धी अध्ययनमा २०७८ असार मसान्तसम्मको तुलनामा २०७९ असार मसान्तमा प्रदेशमा बैंकहरूको कर्जा १३ दशमलव २ प्रतिशतले बढेर ५ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकहरूको निक्षेप संकलन ५ दशमलव ८ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ कारोबार बढ्नुमा बैंकहरूको पहुँच विस्तारका साथै सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह र विद्युतीय भुक्तानीमा वृद्धि हुनु प्रमुख कारण देखिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाका १४४ शाखा थपिएका छन् । यससँगै २०७९ असारसम्ममा वाणिज्य बैंकका ७६३, विकास बैंकका १९४, वित्त कम्पनीका ३२ र लघुवित्त वित्तीय संस्थाका ८६८ गरी कुल शाखा संख्या १ हजार ८५७ पुगेको छ । यस्तै कुल एटीएम मेशिनको संख्या पनि ५७६ पुगेको छ । एक वर्ष अवधिमा प्रदेशभित्र निक्षेपकर्ता २५ दशमलव ४ प्रतिशतले बढेर ६० लाख ४२ हजार ९५१ जना पुग्दा ऋणीको संख्या २६ दशमलव ८ प्रतिशत बढेर ३ लाख ८ हजार ८९७ पुगेको छ । २०७८ असारमा बैंकमा निक्षेपकर्ताको संख्या ४८ लाख १८ हजार ४०४ र ऋणीको संख्या २ लाख ४३ हजार ६५८ थियो ।

२०७८ असारको तुलनामा २०७९ असारमा प्रदेशमा विपन्न वर्ग कर्जा १५ दशमलव ४ प्रतिशतले बढेर ४७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तसम्ममा उक्त कर्जा ४० अर्ब ८३ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको तुलनामा विपन्न वर्ग कर्जाको हिस्सा ८ दशमलव ७ प्रतिशत हो । यस्तै कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १० प्रतिशत, औद्योगिक कर्जाको २२ दशमलव ३ प्रतिशत र सेवा क्षेत्रको ६७ दशमलव ७ प्रतिशत छ । 

२०७८ असारको तुलनामा २०७९ असारमा प्रदेशभित्र औद्योगिक कर्जा १६ दशमलव ५ प्रतिशतले घटेर १ खर्ब २१ अर्ब रुपैयाँमा सीमित छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ११ दशमलव ५ प्रतिशतले बढेको थियो । निर्माण, खानी र विद्युत् ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा प्रवाहमा कमी आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा कृषिबालीले ढाकेको क्षेत्रफल घट्दा कृषि उत्पादनमा पनि ह्रास आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कृषि बालीले ढाकेको क्षेत्रफल शून्य दशमलव ९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम हुँदा समग्र कृषि बालीको उत्पादन पनि १ दशमलव ४ प्रतिशतले घटेको छ । तर, तरकारी बाली उत्पादन ९ दशमलव २ प्रतिशत, दूध उत्पादन शून्य दशमलव २ प्रतिशत, अण्डा उत्पादन शून्य दशमलव ९ प्रतिशत, मासु उत्पादन १ दशमलव ३ प्रतिशत र माछा उत्पादन २२ दशमलव १ प्रतिशतले बढेको छ ।

यसैगरी गत आर्थिक वर्षमा प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ५२ दशमलव ६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५३ दशमलव ४ प्रतिशत थियो । तयारी लत्ताकपडा उत्पादन गर्ने (गार्मेन्ट) उद्योग, सिन्थेटिक कपडा, फलामे छड, चप्पल जस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोग खुम्चिएको अध्ययनले देखाएको छ ।

गत आर्थिक वर्षमा प्रदेशको पर्यटकीय गतिविधिमा भने सुधार देखिएको छ । सो अवधिमा प्रदेश नं १ मा होटेलहरूको औसत अकुपेन्सी दर ४० दशमलव ४ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५ दशमलव ७ प्रतिशत बिन्दुले बढी हो । गत आर्थिक वर्षमा प्रदेशका होटलहरूमा आन्तरिक पर्यटकको संख्या ५८ दशमलव ४ प्रतिशत र बाह्य पर्यटकको संख्या ३०८ दशमलव ३ प्रतिशतले बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)