ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका उत्पादन विदेशसम्म

२०७९ मंसिर, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जाजरकोट । भौगोलिक रूपमा विकट मानिने कर्णाली क्षेत्रका कृषि उपजले पछिल्लो समय देशका ठूला शहरदेखि विदेशमा समेत पहुँच पाउने गरेको छ । जाजरकोट, जुम्ला, डोल्पा लगायत क्षेत्रमा उत्पादन भएका खाद्य वस्तुले स्वदेशका शहरदेखि विदेशसम्म पहुँच पाउन थालेको हो ।

पछिल्लो समय यातायातको व्यवस्था भएसँगै यहाँको अग्र्यानिक उत्पादनले शहरी क्षेत्रमा पहुँच पाएको हो । यहाँको अग्र्यानिक उत्पादनप्रति आकर्षण बढ्दै गएको यहाँका स्थानीय बताउँछन् । जाजरकोटका गाउँमा उत्पादित मकै, सिमी, गाभा, सुन्तला, भटमास, अदुवा, लसुन तथा जुम्लामा उत्पादित मार्सी चामल, सिमी र कोदोको माग नेपालगञ्ज, काठमाडौंदेखि अमेरिका र क्यानडासम्म हुन थालेको कृषि विकास कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले जिल्लाबाट १ हजार ६ सय क्विन्टलभन्दा बढी मकै नेपालगञ्ज पठाइएको जानकारी दिए । उनका अनुसार यहाँबाट सुन्तला पाँच टन, लसुन २५० क्विन्टल र भटमास ४०० क्विन्टल नेपालगञ्ज पठाइएको छ ।

त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशका विभिन्न शहरसहित विदेशसम्म पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिले यहाँ उत्पादन गरेका कृषि उपज विदेशमा विक्री गरिरहेको छ ।

कम्पनीका सञ्चालक राज शाहीले अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्य सामग्री क्यानडा पठाइएको जानकारी दिए । उनका अनुसार कम्पनीले यस वर्ष एक टन सिमीको दाल, एक टन मासको दाल र दश किलो स्याउको चाना जापान पठाएको छ ।
गतवर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात गरिएको उनले बताए । कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पीठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री निकासी गर्दै आएको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ भने गतवर्ष मात्रै ४० क्विन्टल मार्सी चामल पठाइएको शाहीले बताए ।

खलङ्गास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाउने काम गरिरहेको छ । गतवर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करीब ३० टन स्याउ बंगलादेश पठाएको थियो ।

जुम्लामा २ हजार ८५० हेक्टरमा मार्सी धान लगाइन्छ भने वार्षिक उत्पादन ६ हजार १२७ टन हुन्छ । यस वर्ष चिनो ६५ टन, कागुनो १५ टन र सिमी ४७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाका अनुसार डोल्पामा उत्पादन भएका चिनो, काकुनो, जिम्बु, स्याउ, फापर, ओखर, सिमी बाहिर जिल्लासम्म पठाउने गरिएको छ । चालू आर्थिक वर्षमा खाद्यान्न खरीदका लागि धेरै व्यक्ति डोल्पा आएका उनले बताए ।

उनका अनुसार अघिल्लो वर्ष डोल्पाबाट पाँच टन फापर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको थियो । साथै सिमी २० टन, ओखर र स्याउ २० टन जिल्लाबाट बाहिर पठाइएको उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)