जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा पुर्याइएको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् पहुँच नहुँदा यहाँका स्थानीय सल्लाको दाउरा चिरेर बनाइएको दियालो बाल्न बाध्य रहेकामा अब उक्त बाध्यता हटेको बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । ‘गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ,’ उनले भने, ‘गाउँमा जम्मा ६० घरधुरी रहेका छन् । गाउँनजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महीना पोखरी गाउँका स्थानीय त्यहीं बस्छन् । गोठमा पनि सौर्य ऊर्जाको बिजुली पुर्याइएको छ ।’
सबै गरेर एक सय २० घरमा बिजुली बालिएको रोकायाले जानकारी दिए । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा उज्यालो बनाएको भन्दै यहाँका स्थानीय खुशी भएका छन् ।
एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । यो सेवाले जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको अर्का स्थानीय तुलवीर रोकायाले बताए ।
उत्पादन भएको सबै बिजुली खपत नभए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्नका लागि वडा कार्यालयले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी– पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीय बताउँछन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तीन करोड ३४ लाख र तिला गाउँपालिकाको ३० लाख रुपैयाँ लागत साझेदारीमा सौर्य ऊर्जा निर्माण गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । रासस