सुर्खेत । सुर्खेतका बाढी प्रभावितले आफूहरूको अझै पुनःस्थापना नभएको गुनासो गरेका छन् । बाढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र बस्नुपरेको उनीहरूको गुनासो छ । २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्याएको थियो । बाढीबाट यहाँका सयौं घरपरिवार विस्थापित भएका थिए ।
बाढीले घर बगाएपछि समयमै व्यवस्थापन नहुँदा उनीहरूले यो वर्षको हिँउद पालभित्रै बिताउनुपर्ने अवस्था छ । जिल्लाको वराहताल–२ को गिरीघाटमा अस्थायी शिविरमा बस्दै आएका १५९ घरपरिवारले घर बनाउने रकम अझै पनि पाएका छैनन् ।
प्रदेश सरकारले दिनुपर्ने रू. तीन लाख रकम पीडितलाई दिए पनि स्थानीय र संघ सरकारले अहिलेसम्म उपलब्ध गराउन सकेको छैन । रकम नपाउँदा आफूहरूको व्यवस्थापन हुन नसकेको सुर्खेत गिरीघाटका बाढीपीडित रामबहादुर पुरीले बताए । ‘स्थानीय सरकारले दिनुपर्ने रू. एक लाख र संघीय सरकारले दिने भनेको रू. तीन लाख रकम अझै पाएका छैनौं,’ उनले भने, ‘यो चिसोमा हामी घरबारविहीन छौं ।’
यता, वराहताल गाउँपालिकाले भने पीडितको व्यवस्थापनका लागि तयारी थालिएको बताएको छ । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले बाढीपीडितले जग्गाको माग गरेको भन्दै उनीहरूको बस्ती व्यवस्थापनका लागि सामुदायिक वनसँग जग्गा मागको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने बाढीपीडित घरपरिवारलाई दिने रकम पठाइसकेको बताएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले वराहतालको गिरीघाट अस्थायी शिविरमा बस्दै आएका बाढीपीडित घरपरिवारलाई स्थानीय सरकारमार्फत करीब रू. ६ करोड वितरण गरिएको बताए । रासस