सुर्खेत । कर्णालीमा अब वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारीमार्फत वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । पहिलो चरणमा सुर्खेत र दैलेखमा वर्षभरि सहुलियत मूल्य पसल सञ्चालन गरिने जानकारी दिइएको छ । यसअघि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेशनमार्फत चाडपर्वका समयमा मात्र दैनिक उपभोग्य खाद्य वस्तु बजार भाउभन्दा कम मूल्यमा विक्री गर्दै आएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, कर्णाली प्रादेशिक कार्यालयले स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेगरी पहिलो चरणमा सुर्खेतको रामघाटस्थित भेरी पशु तथा कृषि सहकारी र दैलेखको नारायण नगरपालिकास्थित शतप्रतिशत प्रगतिशील सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको बताएको छ ।
कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले आयातित खाद्यान्नभन्दा स्थानीयस्तरमै उत्पादित खाद्यान्न खरीद गरे सुपथ मूल्यमा सहकारीमार्फत आम उपभोक्तालाई विक्री गरिने जानकारी दिए । स्थानीय कृषि वस्तुको उत्पादन बढाएर रोजगारीसँगै निर्यातलाई प्रोत्साहन दिने समेत उद्देश्य रहेको उनले बताए ।
कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन दुर्गममा रहेका उच्च मूल्यका कृषि वस्तुलाई खरीद गरी उपभोक्ताको माग सम्बोधन गर्ने लक्ष्य रहेको उनले बताए । संघ, प्रदेश, स्थानीय तह र सरोकारवाला निकायको समन्वय तथा सहयोगमा कर्णालीमा खाद्य असुरक्षा तथा कुपोषण हटाउन सहुलियत मूल्य पसल प्रभावकारी हुने उनको भनाइ थियो । विश्व खाद्य कार्यक्रमका सुर्खेत प्रमुख पूर्णबहादुर नेपालीले कर्णालीका दुर्गम, ग्रामीण खाद्य असुरक्षित क्षेत्रहरूमा उचित मूल्यमा सुरक्षित तथा पौष्टिक खाद्यान्न उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताए । यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले आम उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसलमा विक्रीका लागि राखिने खाद्य वस्तुको गुणस्तर, भण्डारणलगायत विषयमा विशेष ध्यान दिइनुपर्ने बताए । सहकारी संघ सुर्खेतका अध्यक्ष अमृतबहादुर बिसीले कर्णालीका उपभोक्तालाई लक्षित गरी खोलिने सहुलियत मूल्य पसलबाट विपन्न नागरिकलाई बढी लाभ पुग्ने अपेक्षा गरे । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बजारमा व्याप्त कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई राहत दिन गाउँ–गाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न आग्रह गरे ।