ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्गो विमान चढेर कोरियाबाट नेपाल आए ४२ ओटा गाई, एउटै बाच्छाको मूल्य ४ लाखसम्म [फोटो फिचर]

२०७९ पुस, ८  
समाचार स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । शुक्रवार बिहान पशु चिकित्सक डा. लक्ष्मण  घिमिरे खुमलटार स्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा कोरेली गाईका बाच्छा बाच्छीलाई औषधि खुवाइरहेका थिए ।

दक्षिण कोरियाबाट एशियन एयरलाइन्सको चार्टड विमान मार्फत नेपाल ल्याइएका गाईका बाच्छा/बाच्छी र साँढेलाई इलेक्ट्रोलाइट दिइरहेका डा. घिमिरे गाइको तनाव व्यवस्थापनमा व्यस्त थिए ।

दक्षिण कोरिया र नेपालको हावापानी समान भएपनि एक ठाउँबाट अर्को ठाउँमा जाँदा गाईलाई पनि तनाव हुन्छ । त्यसकारण केही दिन क्वारेन्टाइनमा राखेर तनाव व्यवस्थापन गरिरहेको घिमिरेले बताए ।

एशियन एयरलाइन्सको विमानबाट त्रिभुवन विमान स्थलमा झारिएका कोरेली गाईका बाच्छा बाच्छी ।  फोटो : हेफर इन्टरनेशनल

हेफर इन्टरनेसनल नेपालको सहयोगमा ती गाईलाई बिहीवार बेलुका नेपाल ल्याइएको हो । यसरी जहाँज चढेर ल्याइएका बाच्छा बाच्छीको मूल्य २ देखि ३ हजार अमेरिकी डलर रहेको छ । जसको नेपाली मूल्य २ लाख ६५ हजार देखि करीब ४ लाख रुपैयाँसम्म रहेको हेफर इन्टरनेशनलका सञ्चार प्रतिनिधि प्रविन गुरुङले बताए ।

कोरियाबाट ल्याइएका गाई नेपाललाई हस्तान्तरण गर्दै कोरिया सरकारका प्रतिनिधि । फोटो : हेफर इन्टरनेशनल

कोरिया सरकारले अनुदानमा दिएका गाई सिन्धुलीका किसानलाई पनि अनुदानमै दिइने छ । कार्गो विमान चार्टड गर्दा लागेको ढुवानी खर्च भने सबै हेफरले नै ब्यहोर्ने छ  ।

पहिलो लटमा ४२ ओटा बाच्छा बाच्छी नेपाल ल्याइएको र त्यसको अहिलेको बजार मूल्य भने साढे १७ करोड रुपैयाँ रहेको गुरुङले बताए । शुक्रवार थप २१ बाच्छा बाच्छी नेपाल आउँदै छन् । डिसेम्बर २८ सम्म १०६ ओटा बाच्छा बाच्छी नेपाल आइपुग्ने उनले जानकारी दिए ।

सबै बाच्छा बाच्छी किसानलाई हस्तान्तरण गरेपछि यिनको रेखदेख र पालनपोषणको सबै जिम्मा किसान र नेपाल सरकारको हुनेछ ।

बिहीवार बेलुका ६ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिएका बाच्छा बाच्छी राति ८ बजेतिर मात्रै खुमलटार पुर्‍याइएको थियो । खुमलटार पुगेपछि बाच्छा बाच्छीलाई खानाको रुपमा साइलेज (कलिलो मकैको घोगा) सहितको चारा खुवाइएको छ ।

क्वारेन्टाइनमा करीब ७ दिन राखेपछि ती बाच्छा बाच्छीलाई सिन्धुली पठाइने छ । सरकारले सिन्धुलीका किसानलाई दिनको लागि ती बाच्छा बाच्छी दक्षिण कोरियाबाट नेपाल ल्याइएको हो ।

यी गाई मिल्की वे परियोजना सञ्चालन गर्न ल्याइएका हुन् । उक्त कार्य हेफर इन्टरनेशनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले संयुक्तरूपमा सञ्चालन गर्ने बताइएको छ ।

फोटोहरू : सुनिल शर्मा / आर्थिक अभियान र हेफर इन्टरनेशनल

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)