काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले हालै गरेको एउटा सर्वेक्षणमा नेपाली बजारमा औषधिको माग घटेको देखायो र सर्वेक्षणको त्यस्तो नतीजालाई लिएर बजार तरङ्गित पनि भयो ।
यसैबीच बिरामीले औषधि नै खान छाडे त भन्ने टीकाटिप्पणी समेत भयो । यसै विषयमा सरोकारवालासँग कुरा गर्दा सीएनआईले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिकमा औषधि उद्योगको अवस्थासम्बन्धी गरेको सर्वेक्षणलाई पुष्टि हुने गरी नै औषधिको माग घटेको पाइएको छ ।
सर्वेक्षणमा उत्पादकहरूले बजारमा औषधिको माग आव २०७८/७९ को पहिलो चौमासिकको तुलनामा १८ दशमलव ८ प्रतिशतले घटेको बताएका छन् । बजार मागमै कमी आइसकेपछि उद्योगमा चालू आवका लागि लक्षित लगानी योजना पूरै स्थगित भएको सर्वेक्षणले देखाएको सीएनआईका अधिकारीहरू बताउँछन् ।
कोरोना संकट र झन्डै १ वर्षदेखि चलिरहेको रूस–युक्रेन युद्धका कारण देशको अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ । अर्थतन्त्रमा समस्या आउँदा विभिन्न वस्तु तथा सेवाको उपभोग र लगानीमा कमी आएको बताइएको छ । तर, कठिन अवस्थामा पनि खाद्यान्न, औषधिजस्ता जीवनका लागि अत्यावश्यक वस्तुको मागमा कमी नआउनुपर्ने हो ।
मानिसहरू प्राकृतिक प्रकोप, झाडापखाला, हैंजा, डेंगीजस्ता रोगको सिकार बनेर बढी औषधि खपत हुने समयमै माग घटेको देखिनु आश्चर्यको विषय पनि हो । सीएनआईका अधिकारीहरू भने वैज्ञानिक विधिमार्फत औषधि व्यवसायीको प्रतिनिधिमूलक प्रतिक्रिया लिई उनीहरूले दिएको जवाफकै आधारमा अन्तिम निचोड सार्वजनिक गरेको बताउँछन् ।
‘आर्थिक अभावका कारण तत्काल उपचार गरिहाल्नुपर्ने आकस्मिकबाहेकका रोगको उपचारमा सर्वसाधारणले ढिलाइ गर्दा पनि बजारमा औषधिको माग घटेको हुन सक्छ,’ सीएनआईका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले भने ।
नेपाल औषधि उत्पादक संघ औषधि बजारको अवस्था सीएनआईको सर्वेक्षणले देखाएभन्दा पनि भयावह रहेको दाबी गर्छ । संघको अनुमानमा २८ देखि ३० प्रतिशत बजार घटेको छ ।
सम्पूर्ण क्षेत्रका औषधिको मागमा आएको कमी हेर्दा कोरोनापछि मान्छेमा आएको चेतनाको फलस्वरूप बिरामी दर नै घटेको भन्न सकिने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी बताउँछन् ।
‘अस्पतालमा डाक्टरकहाँ बिरामी नै छैनन्, बिरामीको संख्या साँच्चै घटेको छ । कोरोनापछि मान्छे रोगप्रति सचेत बनेका छन् । यो राम्रो पक्ष हो । तर, कतिपयले आर्थिक अभावका कारण पनि उपचार नगराएको देखिन्छ,’ महासचिव अधिकारी भन्छन्, ‘यसरी हेर्दा माग घट्नुका पछाडि जनचेतना र आर्थिक अभाव दुवै कारण जिम्मेवार छन् ।’
उनका अनुसार नेपालमा पहिलेदेखि नै अवैध रूपले औषधि आयात हुने गरेको छ । पछिल्लो समय यसरी भित्रिने औषधिको मात्रा बढेको उनको दाबी छ । ‘स्वदेशमा उत्पादित औषधिको माग घट्नुमा अवैध आयातको पनि हात छ,’ उनले आर्थिक अभियानसँग भने ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन जनचेतना बढ्दा पछिल्लो समय सरुवा रोगबाट बिरामी हुनेको संख्या घटेको बताउँछन् । यसले पनि औषधिको मागमा कमी आएको हुन सक्ने उनको अनुमान छ ।
‘दीर्घकालीन रोगको हकमा भने रोग लागेपछि औषधि खानैपर्छ । त्यसमा पछि खाउँला वा ढिलो खाउँला भनेर हुँदैन,’ डा. पुनले भने । 'महँगीका कारण औषधि सेवन नगर्ने वा कम गर्नेको संख्या धेरै ठूलो नहुने भएकाले अहिले मागमा आएको कमीको मुख्य कारण औषधि प्रयोगमा सर्वसाधारणको अनिच्छा होइन ।'