धनकुटा । धनकुटामा माघ ६ गतेदेखि हुन लागेको ‘प्रादेशिक व्यापार मेला, कृषि प्रदर्शनी एवं पाँचौं धनकुटा महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ नारासहित महोत्सव आयोजना गरिँदै छ ।
आयोजक उद्योग वाणिज्य संघ धनकुटाले शनिवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । धनकुटाको तल्लो टुँडिखेलमा आयोजना हुने महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैंची, अदुवा, अल्लो, ऊलनलगायत १९ किसिमका निर्यातमूलक वस्तुको प्रदर्शनी गरिने आयोजकले बताएको छ ।
महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । त्यस्तै समापन प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
माघ १६ गतेसम्म चल्ने महोत्सवमा १८० स्टल रहनेछन्, जसमा १३७ स्टल कृषिसँग सम्बन्धित हुनेछन् । यस्तै १५ स्टल जातजाति विशेष परिकारका रहने आयोजकले बताएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकले बताएको छ । महोत्सवका लागि स्टल बुकिङ शुरू भइसकेको छ । महोत्सव हुने स्थान टुँडिखेलमा स्टल निर्माण धमाधम भइरहेको छ ।
महोत्सवको अवलोकन १ लाखले गर्ने र ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । धनकुटामा प्रत्येक ३ वर्षमा महोत्सव हुँदै आएको छ । कोरोना महामारीका कारण गतवर्ष महोत्सव हुन सकेको थिएन ।