सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोट–दुनै–मरिम–तिन्जे–धो–लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणाधीन सडकमा हुन सक्ने कमीकमजोरी निरीक्षण, गुनासा सुनुवाइ र निर्माण बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली उपल्लो डोल्पा पुगेको हो ।
जाजरकोटबाट डोल्पाको दुनैसम्म ११८ किलोमिटर सडक भेरी कोरिडोरभित्र पर्दछ । मोरिम्ला नाकादेखि धोसम्म ६५ किलोमिटर पर्छ । उक्त सडकखण्डको ट्र्याक खोल्ने काम भइसकेको छ ।
दुनै–ल्यासीक्याप सडकखण्ड २० किलोमिटर लामो छ । डोल्पा सदरमुकाम दुनैदेखि ल्यासीक्यापसम्मको सडकखण्ड निर्माणसमेत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत भइरहेको छ । सडक डिभिजनको टोलीले यसपटक १४८ किलोमिटर सडकको अध्ययन गरेको कर्णले जानकारी दिए । दुनै–लासीक्याप सडक खण्डमा कामको सम्झौता गरे पनि १० महीनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको हो ।
२०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सडक निर्माणको सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख रुपैयाँ रहेको कार्यालयले बताएको छ । दुनै–ल्यासीक्याप सडक काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाकासम्म पुग्छ । अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नतिका लागि ठेक्का भएर यती बिल्डर्सले काम गरिरहेको छ ।
कर्णाली प्रदेश हुँदै लुम्बिनी प्रदेशको नेपालगञ्ज, जमुनाह नाकासमेत यसले जोड्छ । भेरी कोरिडोर निर्माण भएमा भारतको रुपेडियाबाट चीनको तिब्बतसँग सीधा सडक सम्पर्क जोडिनेछ । जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो । अहिले स्तरोन्नतिको काम सडक डिभिजन कार्यालय चौरजहारीले गरिरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमन चुस्त बनाइएको सडक डिभिजन चौरजहारीका प्रमुख कर्णले बताए ।
दुनैदेखि लासीक्यापसम्मको सडक निर्माण गर्न हिउँदमा अत्यधिक चिसोका कारण मुश्किल हुने गर्छ । वर्षायाममा सडक खन्न निर्माण सामग्रीदेखि विभिन्न औजारको समस्या हुन्छ । उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडका भरमा ढुवानी हुँदै आएको छ । सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौंरीबाट खाद्यान्नदेखि निर्माण सामग्री ढुवानी गरिन्छ ।
भेरी कोरिडोर निर्माण गर्न अत्यधिक लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ । जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र २५ पुल निर्माण गर्नुपर्ने अवस्था छ । जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्र गर्न ठेक्का भइसकेको छ । तल्लुबाट दुनैसम्म सडक कालोपत्र चाँडै थालिने उनले बताए । रासस