जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ ।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम शुरू गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष-उपाध्यक्ष कार्यक्रममा छुट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्न हिउँदे गाउँसभाबाट पारितसमेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।
नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुई जनालाई निःशुल्क एमबीबीएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष रू. ७ लाख प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाले जानकारी दिए । वडा नं ४ निवासी नवीन रेउलेलाई एमबीबीएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ । रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययनरत छन् ।
यस्तै गाउँपालिकाले आफ्नो अर्द्धवार्षिक समीक्षामा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने संघीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको जनाएको छ ।
पातारासीकै उच्च स्थान लोटचौरमा खेलकुद तालीम केन्द्रका लागि रू. ५० लाख गाउँपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । -रासस