जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार काम शुरू गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
स्वास्थ्योपचारमा राहत होस् भनेर ‘अध्यक्ष–उपाध्यक्ष कार्यक्रम’मा छुट्ट्याएको बजेटबाट पातारासीका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने निर्णय हिउँदे गाउँसभाबाट पारित समेत गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् । नागरिकको स्वास्थ्य बीमासहित गाउँपालिकाबाट पाँच वर्षमा दुईजनालाई नि:शुल्क एमबीबीएस अध्ययन गर्न आर्थिक सहयोग गर्ने नीतिअनुसार एकजनालाई पहिलो वर्ष रू. ७ लाख प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढथापाले जानकारी दिए । वडा नं ४ निवासी नवीन रेउलेलाई एमबीबीएस अध्ययनका लागि पालिकाले अहिले छात्रवृत्ति दिएको छ । रेउले रूपन्देहीको देवदह मेडिकल कलेजमा अध्ययनरत छन् । यस्तै गाउँपालिकाले आफ्नो अर्धवार्षिक समीक्षामा छुमचौरमा धान उत्पादन बढाउने संघीय सरकारको योजनालाई निरन्तरता दिन पहल भइरहेको बताएको छ । पातारासीकै उच्च स्थान लोटचौरमा खेलकुद तालीम केन्द्रका लागि संघीय सरकारले रू. ५० लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । रासस