ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहकारीले निक्षेप रकम नदिएपछि पीडितले गुहारे मन्त्री

रू. १ अर्ब ४८ करोड डुब्न नदिन बचतकर्ता आन्दोलित

२०७९ फागुन, ९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका बचतकर्ताले हप्तौं धाउँदा पनि भुक्तानी नपाएपछि सोमवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाउँदै भुक्तानीको पहल गरिदिन आग्रह गरेका छन् । २०७१ सालदेखि सञ्चालनमा आएको उक्त सहकारी संस्था पूँजीका हिसाबले यस क्षेत्रकै अब्बल मानिँदै आएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले बचतकर्ताको रकम सुरक्षित तरीकाबाट फिर्ता गराउन पहलका लागि मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको बताए ।

सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ बचत रहेको तुलसी बहुमुखी सहकारी एक सातादेखि बन्द छ । जिल्ला प्रशासन कार्यालयले उक्त सहकारीका सञ्चालकको बैंक खाता रोक्का गरेको छ । साथै विभिन्न स्थानमा रहेको सहकारीको अचल सम्पत्ति समेत रोक्का छ ।

बचतकर्ताले भुक्तानीको माग गर्दै सहकारीका अध्यक्षसहितका सञ्चालकको घर घेरेपछि प्रहरीले त्यसका सञ्चालकलाई पक्राउ गरेको छ । बचत गरेको रकम साँवा र ब्याजसहित दिनुपर्ने माग राख्दै निक्षेपकर्ताहरू आन्दोलित भएपछि प्रहरीले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको हो । बचतकर्ताको रकम पाँच दिनभित्र फिर्ता नभए उनीहरूलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

विराटनगर–४ की विमला भट्टराईले तुलसी बहुमुखी सहकारीको मुद्दती खातामा १८ लाख रुपैयाँ जम्मा गरेको वर्ष दिन पूरा भइसक्दा पनि सहकारीले साँवा र ब्याज रकम दिन आलटाल गरेको बताइन् । ‘मुद्दती खातामा जम्मा गरेको अवधि पूरा भइसक्दा पनि सहकारीले अहिलेसम्म साँवा र ब्याज दिन सकेको छैन,’ उनले भनिन्, ‘सहकारी धाएको महीनौं हुन लागिसक्यो । तर, सहकारीले भाखा दिँदै फर्काउने गरेको छ ।’

विराटनगरकै ममताकुमारी साहले पनि उक्त सहकारीमा आफूले बचत गरेको रकम फिर्ता पाउन नसकेको बताइन् । ‘फिक्स्ड डिपोजिट गरेको वर्ष दिन भयो । अवधि पूरा भएपछि सहकारीमा पैसा लिन आएको हप्तौं बितिसक्यो, अहिलेसम्म दिने छाँटकाँट छैन,’ उनले भनिन् ।

सहकारीका विराटनगर शाखा प्रबन्धक मन्दिप खवासले आर्थिक मन्दीका कारण सहकारीको लगानी समयमा उठ्न नसक्दा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या भएको बताएका छन् । संस्थाको विराटनगरस्थित मुख्य शाखामा मात्रै करीब ६ हजार सर्वसाधारणको ६५ करोड रुपैयाँ बचत छ । मोरङ, झापा, सिरहा र उदयपुरमा यो सहकारीका शाखा छन् । रकम अभावकै कारण सहकारीले सूचना जारी गरेर प्रत्येक दिन ३० जना बचतकर्तालाई प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म फिर्ता गर्ने बताएको छ । तर सर्वसाधारणको भीडले सातादेखि सहकारी नै बन्द रहँदा त्यो पनि गर्न नसकिएको खवासले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)