सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेखको राकम कर्णालीमा १०० शय्याको अस्पताल बनाउने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा उपलब्ध गराएका छन् । राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर सेजुवालले २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ ।
अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा प्रतिष्ठानले अक्सिजन प्लान्ट सहयोग गरेको छ, जसको उद्घाटन मंगलवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरे । रासस