जाजरकोट । जाजरकोटको भेरी नगरपालिका महतारा गाउँ र जुनीचाँदे गाउँपालिकाको ‘स्लेट ढुंगा’को माग ठूला शहरमा बढ्न थालेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित ‘जाजरकोट ढुंगा सप्लायर्स एण्ड कटिङ सेन्टर’मार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ ।
यहाँ प्रशोधन भएका स्लेटको रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा बढी प्रयोग हुने सञ्चालक महेन्द्र शाहीले बताए । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्बल तथा टायलको विकल्प बन्दै गएका छन् । विगतमा ढुंगा–माटोले बनेका घरमा छानो छाइने ढुंगा अहिले शहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, बिछ््याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेका छन् ।
सो स्लेट सबैभन्दा बढी नेपालगञ्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौं, चितवन, बुटवल, दाङ, विराटनगरलगायत शहरमा समेत पुग्ने गरेको सञ्चालक शाहीको भनाइ छ । स्लेटको माग अत्यधिक भएकाले माग धान्नै मुश्किल भएको उनले बताए । वार्षिक २५ ट्रक स्लेट विक्रीका लागि पठाउने गरिएको जानकारी उनले दिए । रासस