ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ करोड लगानीको अत्याधुनिक 'पशु ल्याब'मा यी रोगको हुन्छ परीक्षण, '६०% रोग पशुबाटै मानिसमा'

२०७९ फागुन, ३०  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालमा सामान्यतया कुनै पशुपन्छी बिरामी हुँदा रोग निवारणको लागि जुनसुकै एन्टिबायोटिकको प्रयोग गरिन्छ । घरपालुवा यस्ता जनावरलाई रोग थाहा नै नभई दिइने एन्टिबायोटिकले जनावरलाई मात्रै होइन, उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई पनि असर गर्दछ ।

यही समस्यालाई मध्यनजर गर्दै सैलेश कँडेलले नेपालमै पहिलोपटक अत्याधुनिक भेट ल्याब स्थापना गरेका छन् । घरपालुवा पशुपन्छीमा लागेका रोगको पहिचान गर्न सकिने अत्याधुनिक ल्याब स्थापना गर्न उनले करीब ५ करोड रुपैयाँ लगानी गरेका छन् । ल्याबमा ५ जना डाक्टर कार्यरत छन् ।

उनले शुरु गरेको ‘भेटरिनरी डाइग्नोसिस एण्ड रिसर्च ल्याब्रोटरी ’ निजी क्षेत्रद्वारा नेपालमा सञ्चालन गरिएको पहिलो भेटरिनरी डाइग्नोसिस एण्ड रिसर्च ल्याब्रोटरी भएको दाबी गरिएको छ । ल्याबमा विश्वकै लिडिङ कम्पनी आइडेक्सद्वारा निर्मित उपकरणहरू प्रयोग गरिएका छन् । यसले नै ल्याबको अत्याधुनिकता झल्काउने सञ्चालकको दाबी छ ।

उक्त ल्याब स्थापनाका लागि कोभिडलगत्तै काम थालिएको थियो । त्यसको डेढ वर्षमा स्थापना भएको ल्याब राम्रोसँग सञ्चालनमा आएको भने १० महीना मात्रै भएको छ ।

नेपालमा यसअघि सरकारी स्वामित्वका ७ ओटा भेटेरिनरी ल्याबहरू सञ्चालनमा छन् । तर, सरकारी स्वामित्वमा रहेका उक्त ल्याबहरूबाट सेवा लिन किसानहरूलाई झन्झटिलो हुनुका साथै ती ल्याबहरू सबै किसानको पहुँचमा पुग्न नसकेको ल्याबमा कार्यरत डाक्टर रक्सन कर्माचार्य बताउँछन् ।

त्यसैले ल्याबलाई किसानको पहुँचमा पुर्याउनुका साथै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ आफूहरूले ल्याब सञ्चालनमा ल्याएको उनले बताए । 

अहिले घरपालुवा पशुपन्छीहरूमा थाइराइड, मधुमेह, क्यान्सर जस्ता रोगहरू प्रशस्तै भएको पाइन्छ । त्यस्ता रोगहरू पत्ता लगाउन समय लाग्नुका साथै चित्तबुझ्दो नतिजा पनि नपाउँदा सेवाग्राहीहरू मारमा छन् । 

ल्याब खोल्नुको मुख्य उद्देश्य नै अत्याधुनिक मेसिनबाट पशुपन्छीहरूमा लागेको रोगको समयमै पहिचान गर्ने र पशुपालक किसानलाई उपचारमा सहयोग गर्नु रहेको कर्माचार्य बताउँछन् ।

१८ प्रकारका रोगको हुन्छ परीक्षण 

ल्याबमा विभिन्न १८ किसिमका रोगको परीक्षण हुन्छ । रोग अनुसार न्यूनतम ३५० रुपैयाँदेखि अधिकतम २ हजार ८०० रुपैयाँसम्म लाग्ने परीक्षण गरिन्छ ।

ल्याबमा छालाको परीक्षण ३५० रुपैयाँमा हुन्छ भने हिस्टोप्याथोलोजी र वायोस्पीको परीक्षणका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । टोटल टीफोर भन्ने प्याकेजको मूल्य २ हजार ८०० रुपैयाँ तोकिएको छ ।

गाई, भैंसी, बाख्रा र भेडाको रगतबाट गर्भ परीक्षण गरेको शुल्क भने १ हजार २०० रुपैयाँ तोकिएको छ । दूधबाट गर्भ परीक्षण गरेको शुल्क भने १ हजार २५० रुपैयाँ छ । 

ल्याबले पशुपन्छीहरूमा देखिने रोगहरूको छिटोभन्दा छिटो पहिचान गरी सहजरूपमा उपचार गर्न सहयोग गर्ने गरेको सञ्चालक बताउँछन् ।

ल्याबबाट पशुपन्छीको स्वास्थ्य अवस्थाका साथै भ्याक्सिनको प्रभावकारिता, दानाको गुणस्तर लगायतको परीक्षणहरू पनि गर्न सकिन्छ । ल्याबमा पशुपन्छीको प्रकृति अनुसार परीक्षण गरिन्छ । 

ल्याबमा हुने एउटा महत्त्वपूर्ण जाँच कुकुरमा हुने ट्यूमरको जाँच हो । कुकुरमा हुने ट्युमरको समयमा उपचार भएन भने ट्युमर मान्छेमा पनि सर्न सक्छ । ल्याबले त्यस्तो ट्युमर भए/नभएको सजिलैसँग पत्ता लगाउनुका साथै आवश्यक उपचारको लागि सिफारिस गर्ने गरेको छ ।

यस्तै ल्याबमा पोल्ट्री फार्मको पीसीआर जाँच पनि हुन्छ । पीसीआरको मद्दतले फर्ममा कुखुरा राख्नुपूर्व नै पीसीआर परीक्षण गरेर उक्त ठाउँमा कुखुरा राख्न उपयुक्त हुन्छ कि हुँदैन भनेर थाहा पाउन सकिन्छ । 

ल्याबबाट गाईबस्तुको गर्भावस्थाका साथै थुनिलो रोगको पनि सजिलैसँग पहिचान गर्न सकिन्छ । यस्तै ल्याबबाट मेटाबोलिक प्रोफाइल टेस्टिङमार्फत् पशुको शरीरमा मेग्नेसियम, फोसफरस क्याल्सियम लगायतको मात्राको पनि परीक्षण गरिन्छ । 

ल्याबबाट सम्पूर्ण किसिमको नमुना परीक्षण गरी उपचार गर्न सल्लाह दिनुका साथै औषधि पनि सिफरिस गर्ने गरेको कर्माचार्यले बताए । 

१० महीनामै २ हजारभन्दा बढी नमुना परीक्षण

ल्याबमा अहिले घोडा, कुकुर, बिरालो, कुखुरा, गाई, भैंसी, बाख्रा, लगायतको जनावरको परीक्षण गरिन्छ । यस्तै ल्याबमा किसानले ल्याएको नमुनाबाट पनि परीक्षण गरिन्छ। ल्याबमा अहिले पशुपन्छीको दूध, रगत, र्याल लगायतबाट परीक्षण गर्दै आएको छ । 

अहिलेसम्म ल्याबमा १ हजार २०० कुकुर/बिरालो, ५० ओटा घोडा, २० ओटा बाख्रा र २० ओटा गाईको रगतकाे नमुना ल्याएर परीक्षण गरिसकिएको छ । यस्तै १० ओटाकाे पीसीआर पनि परीक्षण गरिएको छ । 

यस्तै ल्याबमा माईक्रोबायोलोजिकल टेस्ट लगभग ५०० ओटा भइसकेको छ । हिस्टोलोजीको ८४ ओटा टेस्ट भइसकेको सञ्चालक कँडेलले बताए ।

यहाँ दूधबाट गरिएको परीक्षणको नतिजा आउन ८ घण्टा र रगतबाट गरिएका परीक्षणको नतिजा आउन आधा घण्टा लाग्ने उनले बताए । 

१५ ओटा कलेक्सन सेन्टरसँग सहकार्य गरेर देशभर सेवा दिने

अहिले भएको ल्याबबाट सेवा दिने र पछि आवश्यकता भएको ठाउँमा ल्याब विस्तार गर्ने योजना रहेको सञ्चालक कर्माचार्य बताउँछन् । 

यस्तै निकट भविष्यमा ल्याबले १५ ओटा कलेक्सन सेन्टरसँग सहकार्य गरी किसानकोमा पुगी सहजै सेवा प्रदान गर्ने योजना रहेको उनले बताए ।

निकट भविष्यमा सरकारसँग रणनीतिक साझेदारी गर्दै काम गर्न सकिने ल्याबका अर्का सञ्चालक सैलेश कँडेलले बताए । जसका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आम नागरिकका साथै उपभोक्ताले फाइदा लिन सक्ने उनको दाबी छ । ‘अहिलेसम्म ल्याबको मुख्य प्राथमिकता रोग पहिचान गर्ने मात्र रहेको छ,’ उनले भने, ‘तर, हाम्रो भविष्यमा रोग लाग्नै नदिन दानामा हुने पौष्टिक गुणका साथै पानीमा हुने मिनरलको पनि टेस्ट गर्ने योजना रहेको छ ।’

भेटेरिनरीसँग सम्बन्धित अनुसन्धान गर्न चाहनेको लागि ल्याब उपलब्ध गराउनुका  साथै आफै पनि यस क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्दै जाने ल्याबको योजना छ ।

भेटेरिनरी ल्याबका सामानमा पनि कर छूट दिए सेवा सस्तो हुन्थ्यो 

नेपाल जस्तो कृषि प्रधान देशमा यस्तो खालको ल्याबको निकै आवश्यकता छ । तर, ल्याबको सामान ल्याउँदा भन्सारमा समस्या हुने गरेको छ । यस्तै जनस्वास्थ्यसँग सम्बन्धित सामग्री ल्याउँदा कर छूट हुन्छ । तर, भेटेरिनरी ल्याबका सामग्री ल्याउँदा उनीहरूले त्यस्तो सुविधा नपाएको गुनासो गरे । 

राज्यले करमा केही छूट दिने हो भने थोरै सेवा शुल्कमा पनि भेटेरिनरी परीक्षणको सेवा दिन सक्ने उनीहरूको भनाइ छ ।  

यस्तो ल्याबहरू कसैको प्राथमिकतामा नरहेकाले ल्याबले दिने सेवाहरू ठूलो उपभोक्तासम्म पुग्न सकेको छैन । 

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर हरेक किसानको घरगोठमा पुग्ने व्यवस्था गर्न आवश्यक रहेको कर्माचार्य बताउँछन् ।

पशुपन्छीको नियमित जाँच गरे मानिस निरोगी  !

बुढ्यौली कुकुर र बिरालोको ६/६ महीनामा विभिन्न परीक्षण गर्न सुझाव दिन्छन् । यस्तै जवान कुकुरको ४/४ महीनामा परीक्षण गर्दा जनावरबाट मानिसमा रोग सर्ने सम्भावना निकै कम हुने उनले बताए । 

प्रत्येक महीना मेटाबोलिक टेस्ट गर्नुपर्ने, कुखुरालाई भ्याक्सिन दिएको एक हप्तामा खोपको प्रभावकारिता जाँच गर्नुपर्ने, दाना प्रत्येक हप्ता परीक्षण गर्नुपर्ने र समय समयमा फार्मको पनि परीक्षण गरे धेरै जनावरमा रोग लाग्नै नपाउने उनी बताउँछन् । यस्तै पशु किन्नुअघि स्क्रिनिङ टेस्ट गरेर स्वास्थ्य परीक्षण गर्दा झनै राम्रो हुने उनको भनाइ छ । 

सरकारले अहिलेसम्म घरपालुवा जनावरमा यस्तो खालको परीक्षण गर्नैपर्छ भन्ने कुरा लागू गरेको छैन । मान्छेलाई सर्ने ६० प्रतिशत रोग जनावरबाटै आउने हुँदा यस्तो परीक्षणले जनावरलाई मात्र नभइ मान्छेलाई पनि विभिन्न रोग‍बाट बचाउने कर्माचार्य बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)