ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हस्तान्तरण हुनुपूर्व रेल्वे क्वाटरमा चोरी

२०८० बैशाख, १  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । भारत सरकारले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरिरहेको बथनाहा–विराटनगर आईसीपी रेल्वेको कस्टम यार्डनजिकै रहेको कर्मचारी आवासबाट वायरिङ गरिएको विद्युतीय तार र शौचालयमा जडान गरिएका धाराका टुटी चोरी भएको छ । सुरक्षा गार्ड समेत नबस्ने उक्त आवास क्षेत्रबाट करीब १० लाख भारतीय रुपैयाँ बराबरको चोरी भएको बागमती कन्स्ट्रक्शन प्रालिका शिवकुमार मण्डलले बताए ।

उनका अनुसार चारवटा क्वाटर ब्लकमा ढोकाको ताला फुटाएर चोरी भएको छ । यसअघि पनि एउटा क्वाटरमा यसरी नै चोरी भएको थियो । रेल्वे नेपाललाई हस्तान्तरण नभएको र सञ्चालन पनि नभएकाले क्वाटर खालि छन् ।

भारतको इरकोन कम्पनीले पाएको ठेक्कामा नेपालतर्फ स्टेशन भवन, स्टाफ क्वाटर, आकाशे पुल, गोदाम र यार्ड निर्माणको ठेक्का नेपालको बागमती कन्स्ट्रक्सनले पाएको थियो । उसैले निर्माण गरेको क्वाटरबाट पुन: विद्युतीय सामग्री चोरी भएको हो ।

नेपाल रेल्वेका फिल्ड इन्जिनियर रोशनकुमार देवका अनुसार रेल्वे हस्तान्तरण नभएको कारण सुरक्षाको जिम्मा अहिले कसको भन्ने अन्योल छ । दिनभरि दुई जना सिपाहीले कस्टम यार्डमा ड्युटी गरे पनि साँझ परेपछि यार्डको सुरक्षा कसले गर्ने भन्ने निर्णय भएको छैन । तर, निर्माण गर्ने कम्पनीले सुरक्षाका लागि निजी सुरक्षा गार्ड राख्नुपर्नेमा त्यसो नगरेकाले पटकपटक चोरीका घटना भएको उनले जानकारी दिए ।

बागमती कन्स्ट्रक्शनले निर्माण गरेको क्वाटर भारतीय कम्पनी इरकोनलाई हस्तान्तरण गरे पनि त्यसको सुरक्षाको बन्दोबस्त गर्न नसकेको कारण पटकपटक चोरी भएको बागमती कन्स्ट्रक्शनका शिवकुमार मण्डलले बताए । गेटमा र ढोकाहरुमा सामान्य ताला हुन्छ राती यो स्थान एकान्तमा भएकाले चोरले सजिलै ताला फुटाएर चोरी गर्ने गरेको उनले बताए । उनले आफूहरुले चोरीको बारेमा भारतीय पक्षलाई जानकारी गराएपनि भारतीय पक्ष भने निरिक्षणको लागि नआएको मण्डलले सुनाए ।

भारतको बथनाहाबाट नेपालको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाइको ब्रोडगेज भारत सरकारले निर्माण गरिदिने सहमति छ । तर, अन्तिम विन्दु विराटनगरपूर्वमा रहेको कटहरीमा जग्गाको मुआब्जा विवाद नसकिएकाले अहिले बथनाहाबाट ८ किलोमिटर विराटनगरको आईसीपीसम्मको रेल्वे ट्र्याक, स्टेशन लगायत पूर्वाधार निर्माण सम्पन्न भएको छ । नेपाल पक्षको तयारी नहुँदा हस्तान्तरण पछि धकेलिएको छ । सन् २०११ मा शुरू भएको योजना २०१७ मा सकिनुपर्नेमा पहिलो चरण २०२३ मा आएर सकिएको छ । भारू ३ अर्ब ७५ करोडको अनुमानित लागतमा भारतको इरकोन कम्पनीले रेल परियोजनाको काम शुरू गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)