ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योग संगठन मोरङको इतिहासमै पहिलोपटक निर्वाचन हुन सक्ने, को बलियो ?

२०८० बैशाख, २०  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर  । उद्योग संगठन मोरङको ५०औं साधारणसभा नजिकिएसँगै नेतृत्वको विषयमा चर्चा शुरू भएको छ । उद्योगीहरू वैशाख २९ गते हुने साधारणसभाको चटारोमा छन् ।

अध्यक्ष पदमा दाबी गरेका प्रतिस्पर्धीहरूले मतदातासँग भेटघाट बढाएका छन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलको कार्यकाल सकिएसँगै १६औं अध्यक्षका लागि यसपटक तीनजनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । २३५ उद्योगी सदस्य रहेको संगठनमा पहिलोपटक निर्वाचनको सम्भावना बढेको हो । तीनै जनाले कार्यसमितिको प्यानलको खाका समेत बनाउन थालेका छन् । प्याकुरेलले भने नेतृत्वमा नदोहोरिने बताएका छन् । 

वरिष्ठ उपाध्यक्ष रहेका प्रदिप मुरारका, उपाध्यक्ष नन्दकिशोर राठी र सदस्य राकेश सुराना अध्यक्ष पदको दाबी गर्दै चुनावी अभियानमा लागेका हुन् । यसअघि मुरारकासँग वरिष्ठ उपाध्यक्षमा दुई मतले पराजित भएका सुरानाले यसपटक अध्यक्षमा त्यसको बदला लिने तयारीमा छन् । तर यसअघि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने परम्परा रहेकाले आफू अध्यक्ष हुनेमा मुरारका ढुक्क छन् ।

सामाजिक अभियानमा स्थापित राठी पनि संगठनभित्र निकै रुचाइएका व्यक्तिमा पर्छन् । यसपटक कुनै भद्र सहमति नभए निर्वाचन तीन अध्यक्षको प्यानलसहित अथवा अन्य पदमा निर्विरोध भए अध्यक्ष पदमा मात्रै भए पनि निर्वाचन हुने सम्भावना बढेको हो ।

अध्यक्ष पदको दाबी गरेका तीन जनासँग संगठनमा प्याकुरेलले शुरू गरेका कार्यक्रमलाई निरन्तरता दिने र अन्य केही नयाँ कार्यक्रम थप्ने बाहेकका स्पष्ट खाका छैन । तर अन्य दुईभन्दा भिन्न देखिएका सुरानाले भने विद्युत्का समस्या समाधान र युवालाई उद्योगमा लिएर आउने नयाँ योजना बनाएका छन् ।

उद्योग संगठन र बाहिरी समाजमा भिजेका राठी र युवामाझ निकै लोकप्रिय तथा यसअघि संगठनको उपाध्यक्ष हुँदा देखाएको कार्यकुशलताले निखारिएका सुरानाको सम्भावना बलियो देखिएको छ । वरिष्ठ उपाध्यक्ष भए पनि संगठनमा क्रियाशील नभएको र सामाजिक कार्यमा टाढै रहने गरेकाले मुरारकाको सम्भावना कम रहेको उद्योगी वृत्तमा चर्चा छ ।

किशोर प्रधानको नेतृत्वकाल (२०६१ साल)देखि बोर्डमा रहेर सक्रिय सुराना ऊर्जाका जानकार मानिन्छन् । उनले विद्युत्को समस्याले औद्योगिक क्षेत्र आक्रान्त हुँदा सरकारसँग सहजीकरणमा भूमिका निर्वाह गरेका थिए । अध्यक्षको दाबी गरिरहेका राठी र सुरानाबीच तालमेलको सम्भावना समेत रहेको स्रोतले बताएको छ । दुवैले एकअर्काको अस्तित्व स्वीकारेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमति हुन सक्ने बुझिएको छ । त्यसो भएमा दुवै नेतृत्वमा आउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)