ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दादुराबाट १६ जिल्लाका हजारभन्दा बढी सङ्क्रमित

२०८० जेठ, ३१  
स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।

काठमाडौं । दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा दादुरा फैलिएको हो । 

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । 

ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका–२ र ५मा  दादुराको प्रकोप बढेको छ । ती स्थानीय तहका ६ महीनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगन्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ । 

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि  सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका ६ महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ । 

दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै  मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ । मन्त्रालायले यसअघि जतिपटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ । 

महाशाखाले काठमाडौंका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ । 
यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)