ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब जंगलमा पनि पर्यटक !

May 8, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २५, म्याग्दी । हिमालका कारण पर्यटकीय जिल्लाको रुपमा परिचित म्याग्दीका वन क्षेत्रहरुमा पनि पर्यटकहरुलाई आकर्षित गर्न योजनाबद्धरुपमा कार्यक्रम संचालन गरिएको छ । जिल्लाका सात ओटा सामुदायिक वन क्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन भएको हो ।

सामुदायिक वन क्षेत्रलाई पर्यापर्यटनको क्षेत्रको रुपमा विकास गरी आम्दानी गर्ने, वनको कोष वृद्धि गर्ने तथा धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले पर्यापर्यटन कार्यक्रम लागू गरिएको हो । पर्यापर्यटन कार्यक्रम लागु भएका सामुदायिक वनहरुमा बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित् बगरफाँट सामुदायिक वन, बेनपा–५, पुलाचौरको पौलस्त्य आश्रम गिठिनी सामुदायिक वन र पूला गाजने सामुदायिक वन तथा बेनपा–६, अर्थुगेंको खैरेनी सामुदायिक वन रहेका छन् ।

यसैगरी धौलागिरी गाउँपालिका–३, मुनाको दहपातल सामुदायिक वन, मालिका–५, को भीरखर्क सामुदायिक वन र रघुगंगा–५, झींको सिद्ध सामुदायिक वन उपभोक्ता समूह छनोट भएको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ । ती सामुदायिक वन उपभोक्ता समूहमार्फत् सामुदायिक वन क्षेत्रमा बनभोज स्थल निर्माण गर्ने, मठ मन्दिर पुनःनिर्माण तथा मर्मत, मन्दिरको घेराबार एवं शौचालय निर्माण, पदमार्ग निर्माण जस्ता कामहरु अगाडि बढाइएको छ ।

कार्यक्रमबाट प्रत्येक सामुदायिक वनलाई रू.५/ ५ लाखका दरले अनुदान रकम उपलब्ध गराइएको छ भने त्यसमध्ये स्थानीयले २० प्रतिशत व्यहोर्ने छन् । प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा शौचालय निर्माण गरिएको छ भने घेराबार लगाउने कार्यक्रम समेत रहेको छ । सामुदायिक वन क्षेत्रमा विभिन्न किसिमका संरचनाहरुको निर्माण गरेर जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि गर्ने उद्देश्य रहेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।

उनका अनुसार सात ओटा सामुदायिक वनमध्ये बेनपा–२, बगरफाँट र अर्थुगेंको सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ । यसैगरी अन्य सामुदायिक वन क्षेत्रमा कार्यक्रमका लागि संघीय सरकारबाट बजेट प्राप्त भएको उनको भनाइ छ । कार्यक्रममार्फत् वन्यजन्तु सफारी तथा अवलोकन, भ्यू टावर निर्माण, संस्कृतिको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने र आर्थिक विकासमा टेवा पुर्‍याउन कार्यक्रम अगाडि सारिएको हो ।

सामुदायिक वन क्षेत्रभित्र भएका पुरातात्विक बस्तु, मठमन्दिरको संरक्षण र विकास तथा हरियाली प्रवर्द्धन गरेर पर्यटक बढाउने र आय आर्जनमा बृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ । सामुदायिक वन क्षेत्रमा जडिबुटीको समेत खेती गर्न सकिने सम्भावना छ ।

सामुदायिक वन क्षेत्रलाई स्थानीयवासिन्दासँग आर्थिक उपार्जनका हिसाबले जोड्ने गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालय म्याग्दीले बताएको छ । वन क्षेत्रमा पर्यटकलाई पुर्‍याउँदा आर्थिक लाभ लिन पाउने भएपछि कार्यक्रम संचालन गरिएका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरु यतिखेर खुसी छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)