ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनहुँ जलविद्युत् आयोजनामा चार कम्पनीको बोलपत्र पेश

Jul 8, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता
काठमाडौं । तनहुँ जलविद्युत् आयोजना (१४० मेगावाट) कोे बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि चारओटा कम्पनीले बोलपत्र पेश गरेका छन् । आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आइतवार चार कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र पेश गर्ने कम्पनीहरूमा चीनका चाइना कचौपा ग्रूप कम्पनी लिमिटेड (सीजीजीसी), सिनो हाइड्रो कर्पोरेशन लिमिटेड, चाइना नेशनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेशन लिमिटेड र भियतनामको सोङ डा कर्पोरेशनसँगै नेपालको कालिका कन्स्ट्रक्शन संयुक्त उपक्रम (जेभी) रहेका छन् । कम्पनीहरूले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्यांकन गरी सारभूत रूपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए । ‘प्राविधिक बोलपत्रको मूल्यांकन आगामी भदौको दोस्रो साता (अगस्ट २०१९) भित्रमा सम्पन्न गरी सहमतिका लागि एडीबीमा पठाउँछौं, एडीबीबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोल्नेछौं,’ उनले भने, ‘कात्तिकको दोस्रो साता (अक्टोबर २०१९) भित्र ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्र आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’ पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तरराष्ट्रिय टेन्डर आह्वान गरेको थियो । शुरूमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृनिकायहरू एशियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलियतपूर्ण ऋण दिने भएको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले आयोजना स्थलमा काम गरिरहेको छ । सिनो हाइड्रोले अहिले आयोजना स्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर बेर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरू सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)