असार २६, कास्की । अधिकांश पर्यटकको पहिलो रोजाइमा पर्ने सुन्दर नगरी हो, पोखरा । पोखरामा फेवाताल, सराङ्गकोट, शान्ति स्तूपा, डेभिस फल्स, प्याराग्लाइडिङ, चमेरो गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयलगायतका पर्यटकलाई आकर्षित गर्ने थुप्रै ठाउँहरु छन् । पोखरामा आउने पर्यटकको बसाई अझै लम्ब्याउने उद्देश्यले अब प्राणी उद्यान (जुलोजिकल पार्क) अर्थात् चिडियाखाना सञ्चालनमा ल्याइने भएको छ ।
४ वर्ष पहिले पोखरा महानगरपालिकाको पचभैया सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको चिडियाखाना साउन १ गतेबाट सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको हो । साउन १ देखि सर्वसाधारणको लागि खोलिने भए पनि टिकट नै काटेर जाने व्यवस्था भने भदौबाट लागु गर्ने तयारी रहेको बख्रेलले बताए ।
तत्कालिन क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाको पहलमा २०७१ साल पुसमा गण्डकी प्रदेशलाई ‘योजनाबद्ध एकीकृत र व्यवस्थित शहर’ विकास गर्न गठित समितिले पचभैयामा चिडियाखाना निर्माण गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै २०७२ साउन १५ गते तत्कालिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिडियाखानाको शिलान्यास गरेका थिए । उक्त चिडियाखाना महानगरपालिकाको ३०, ३१ र ३२ नम्बर वडाको १३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
अहिले चिडियाखाना १८ प्रजातिका करीब ५० भन्दा बढी जनावरहरु रहेका छन् । चिडियाखानामा निलगाई, हरिण, मृग, लाटोकोसेरो, अजिँगर, कछुवा र विभिन्न प्रजातिका चराहरु राखिएको चिडियाखानाका अध्यक्ष हिमालय बख्रेलले बताए । यहाँ रहेका जनावरहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी ल्याइएको उनले जानकारी दिए । उनका अनुसार पार्कमा राखिएका जनावरको खानाको लागि मात्रै मासिक ६० हजार रुपैयाँ खर्च हुने गरेको छ ।
पोखराको अमरसिंहचोकमा रहेको युनाइटेड क्लबले २०६७ सालतिर चिडियाखानाको रुपमा सो पार्कको परिकल्पना गरेको हो । क्लबले प्रत्येक वर्ष पोखरामा आयोजना गर्ने महोत्सवबाट बचेको रकममध्येको २० प्रतिशत चिडियाखानाको भौतिक पूर्वाधार निर्माणमा खर्च गर्दै आएको थियो ।
आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि गण्डकी प्रदेश सरकारले उक्त उद्यान पार्कलाई ५ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटमध्ये ४ करोड रुपैयाँ जुलोजिकल पार्कको स्थापनाको प्रतिवेदन तयारीको लागि र १ करोड रुपैयाँ वन्यजन्तु उद्धार केन्द्रको लागि विनियोजन गरिएको हो ।
चिडियाखानाको लागि युनाइटेड क्लबले हालसम्म करीब ५५ लाख रुपैयाँ खर्च गरेको छ भने पोखरा महानगरपालिकाले चिडियाखाना बनाउन करीब ३५ लाख रुपैयाँ खर्च गरेको छ । जिल्ला वन कार्यालयको पनि चिडियाखानामा सहयोग रहेको बख्रेलले बताए । उनका अनुसार चिडियाखानाले पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिने र यहाँ आउने पर्यटकको बसाई लम्बिने भएकोले चिडियाखानाको कल्पना गरिएको थियो ।
चिडियाखानाका व्यवस्थापक विनय अधिकारीका अनुसार १४ रोपनीको क्षेत्रफलमा मृगको इन्क्लोजर, २ रोपनी क्षेत्रफलमा भालुको लागि इन्क्लोजर र बाँदरको लागि ९ रोपनी क्षेत्रफलमा इन्क्लोजर निर्माणधीन छ । यस्तै चितुवाको लागि भने इनक्लोजर बनिसकेको छ । ढुंगाको छपनी बिछ्याएर बनाइएको फूट ट्र्याक निर्माण सम्पन्न भइसकेको छ । हाल टिकट नलिई पर्यटकबाट सहयोग रकम मात्र लिने गरिएको अधिकारीले बताए । ‘जनावरको बानी र प्रकृति अनुसारको जग्गा छनोटदेखि अन्य अवस्था समेतलाई ध्यान दिएको छौं,’ उनले भने, ‘पार्कको जग्गामा ओसिलो एवम् तातो जमिन ,जंगल र पानीको स्रोतको समेत व्यवस्था छ ।’
बेगनासतालको बसपार्कबाट पोखरा चिडियाखानाको दूरी ३ दशमलव ५ किमी रहेको छ । पोखराबाट बेगनासतालको बस चढेर बसपार्क पुगेपछि हिडेरै अथवा लोकल बसमा पचभैयासम्म पुग्न सकिन्छ ।
यस प्राणी उद्यानले दुर्लभ तथा लोप हुन लागेका वन्यजन्तुहरुको संरक्षण, सम्बर्द्धन र जगेर्ना गरी वन्यजन्तुहरुको बारेमा अध्ययन अनुसन्धान गर्नसमेत सघाउ पुर्याउने विश्वास गरिएको छ ।