जेठ ८, पर्वत । जिल्लाका सात स्थानीय तहमा ४५० जना उद्यमी उत्पादन गरिने भएको छ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) ले उद्यमी उत्पादन गर्न शुरु गरेको हो ।
न्यून आय भएका समूदायलाई दिगो आयआर्जनमा सहभागी गराउन तथा थोरै पूँजीमा सञ्चालन गर्न सकिने साना तथा घरेलु उद्यममा आधारित उद्यमी तयार पार्न शुरु गरिएको परियोजनाले बताएको छ । सबै स्थानीय तहमा विभिन्न सीपमा आधारित तालिम अहिले सञ्चालन भइरहेको छ ।घरेलु तथा साना उद्योग विकास समिति पर्वत शाखाको आर्थिक सहयोगमा संगम तालिम तथा परामर्श केन्द्र र जिल्ला लघुउद्यमी समूह संघको सहकार्यमा उद्यमी उत्पादन गर्ने कार्यक्रम सञ्चालन गरिएको हो ।
समितिका बरिष्ठ उद्योग विकास अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा कार्यक्रमका लागि रू.१ करोड २५ लाख खर्च हुने छ । कार्यक्रमले विपन्न समूदायलाई बाँसका मुढा, व्यूटिपार्लर, च्याउखेती, पलम्विङ, विभिन्न घरेलु तथा बन पैदावरको उपभोग गरि सामाग्री बनाउने हस्तकला र सीपमा आधारित तालिम सञ्चालन गर्दै आएको न्यौपानेले जानकारी दिए । ‘न्यून आय भएका व्याक्ति छनौट गरेर सीपमा आधारित उद्यमी उत्पादन गर्ने कार्यक्रमको लक्ष्य हो,’ न्यौपानेले भने, ‘हामीले सीप र आवश्यक प्रविधि सहयोग गर्दै आएका छौं ।’ सीप सिकेका व्यक्तिले आँफै लगानी गरेर लघु उद्योग चलाउनुपर्ने न्यौपानेले बताए ।
वार्षिक आय ३४ हजार ४३० भन्दा कम रहेका व्यक्ति छनौट गरेर तालिम दिइएको छ । कुश्मा नगरपालिकामा ५८, फलेवासमा ५८, मोदी गाउँपालिकामा ५८, जलजला गाउँपालिकामा ५८, विहादी गाउँपालिकामा ५८, पैयुँ गाउँपालिकामा ५८ र महाशिलामा ५७ जना उद्यमी तयार पारिने छ भने पुराना २४३ उद्यमीहरुको सीप स्तरोन्नति गर्ने लक्ष्य रहेको छ ।