जेठ २४, पर्वत । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँको निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजना ठप्प रहेको छ ।
निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युतगृह, हेडवक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने अडान राखेका छन् साथै र विद्युतगृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी नगर्न पनि उनीहरुले माग राखेका छन् । आयोजनामा कार्यरत ४० कर्मचारीले यही जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित छ ।
कर्मचारी सौरभ पौडेलले भने, ‘हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’ कर्मचारीले यसअघि यही जेठको ८ देखि १२ गतेसम्म पनि तालाबन्दी गरी काम ठप्प पारेका थिए । तर, तालाबन्दीपछि २० गते समस्या समाधान गर्ने भनी सहमति गरे पनि कार्यान्वयन नहुने स्थिति देखिएपछि पुनः तालाबन्दी गरेको उनले बताए । आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको बताएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रुपमा राखेर काम गराइएको तर स्थायी गरिएको छैन । ‘हामीले कसैलाई पनि स्थायी गरेका छैनौं’, आयोजना प्रमुख यादवले भने, ‘विद्युत् उत्पादनपछि नयाँ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया शुरु गर्छौं ।’ अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको उनको भनाइ छ । निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा धेरै ठाउँबाट पानी चुहिएका कारण मर्मत भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावरहाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको ४ हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो । हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादवले बताए । वि.सं. २०६९ साउनमा निर्माण शुरु गरिएको आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । रासस