जेठ २६, म्याग्दी(अस) । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा रहेको ठूलोखोलामा झोलुङ्गे पुलको निर्माण गरिएको छ । एक समारोहकाबीच पुलको उद्घाटन तथा सार्वजनिक लेखापरीक्षणसमेत गरिएको छ । धवलागिरी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको हो ।
रू. ३० लाख ५२ हजार २३१ अनुमानित लागत रहेको झोलुङ्गे पुल निर्माणमा गाउँपालिकाले रू.२० लाख ५४ हजार ५८८ र केन्द्रीय अनुदान स्वापमार्फत रू. ७ लाख ३० हजार ९३० सहयोग गरेका थिए भने स्थानीयले रू.६१ हजार ४४ बरावरको जनश्रमदान गरेका थिए । पुलको लम्बाई ५६ मिटर रहेको छ भने चौडाई १ मिटर ६ सेन्टिमिटर छ । यस्तै भारवहन क्षमता भने २२ दशमलव ४ टन रहेको क्षेत्रीय प्राविधिक सहयोग प्रदायक (आरटिएपि) पोखराका प्राविधिक अधिकृत श्रीधर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गत फागुन २६ गतेबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुलको गत जेठको १४ गते निर्माण सम्पन्न भएको हो । नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरेकी थिइन् । कार्यक्रम झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
झोलुङ्गे पुल निर्माणपछि धवलागिरी–६, मराङ, ५ मल्कबाङ र रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेका स्थानीयवासिन्दालाई आवतजावत गर्न सहज भएको छ । गत भदौ २५ गत पहिरो र बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियो ।