ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बगरफाँट बस्ती संरक्षण आयोजना शुरू

Jun 11, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरू भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बांगेघरासम्म करीब २ किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गर्न लागिएको हो । संघीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डीपीआर तयार गरी १ वर्षभित्र काम सम्पन्न गर्नेगरी संरक्षण आयोजनाको काम शुरू भएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार यस वर्ष नदी कटानबाट अतिप्रभावित क्षेत्र जरुवादेखि डम्मराको पुलसम्म ४ सय थान जाली भर्ने योजना रहेको छ । विगत ३ दिनदेखि दैनिक २६ जना मजदूरले ग्याबिन लगाउने काम गरिरहेका छन् । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरूमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि प्रभावकारी भएको थिएन । करीब २ सय घरधुरीको बसोवास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैं जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । गतवर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रू. १० लाखबाट नदीजन्य वस्तुहरूको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलासे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । नदीले बगरफाँटको करीब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलासे र जरुवा उच्च जोखिममा छन् । बगरफाँट सदरमुकाम बेनीबजारसँगै जोडिएको कृषिका लागि उर्वर ठाउँ हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)