जेठ २८, पर्वत(अस) । मोदी– ८ चित्रेका चिरन्जिवी गुरुङ भारतीय सेनाबाट अवकाश भएपछि स– परिवार वि.सं.२०६५ सालमा पोखरा बसाईं सरे । त्यहि वर्ष शन्तवहादुर गुरुङ, लक्षण गुरुङ, नरजंग गुरुङ, शोभाखर केसीको परिवार पनि गाउँ छोडेर बजार सर्यो । बसाईंसराईको दर बर्षेनी बढिरहेको छ ।
गाउँमा सुविधा थपिँदै गएका छन् । तर, बसाईंसराई रोकिएको छैन् । जिल्लाको सबैभन्दा बढि वसाईसराई भएको वडाको रुपमा चिनिन्छ चित्रे । वडा सचिव गोकुल शर्माले गाउँमा रहेका घरभन्दा बसाईंसराईको दर बढि रहेको बताए ।
‘बसाईंसराई बढिरहेकोमा हामी पनि चिन्तित छौं,’ शर्माले भने,‘ गाउँमा मान्छे टिकाउने मुस्किल भैसक्यो ।’दलित र जनजातीको बाहुल्यता रहेको चित्रेबाट बसाईं सर्नेमा गुरुङ समुदाय अग्रस्थानमा छ । भारतीय तथा ब्रिटिस सेनामा कार्यरत गुरुङ समुदायका युवाहरु नोकरीसँगै शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा गाउँ छोड्ने अधिक छन् । स्थानीय बुढापाकाका अनुसार वि.सं.२०४० सालसम्म गुरुङ समुदायको यहाँबाट करीब २०० भन्दा बढी परिवारको बसोबास थियो । ‘पोखरामा मात्रै यहा“बाट बसाईं सरेका २०० बढी परिवार छन् । ति सबैले उतै घर बनाएका छन् ।’ स्थानीय शिक्षक सुशिलादेबी गुरुङले भनिन्, ‘गाउँमा अहिले मुस्किलले ५५ कुरिया (घर) छन्, ति पनि केहि बसाईं सर्ने तरखरमै छन् ।’ जिल्लाको कुश्मा नगरपालिका– ३ दुर्लुङमा पनि वसाईंसराईको दर उच्च छ । यहाँ पनि जनजाती समूदाय नै गाउँ छाड्दै छन् । गाउँमा बिजुली पुगेको छ, कच्ची भएपनि मोटरबाटो सुबिधा छ, घरघरमा पानीका धारा छन् तर गाउँमा बस्नै इच्छुक छैनन् । बसाईंसराईले गाउँ नै पुरै रित्तो भैसकेको छ ।
‘गाउँमा भन्दा शहरमा बस्ने बढी भइसके,’ वडाध्यक्ष तेजप्रसाद पाध्या भन्छन्,‘ गाउँमा धनी मानिएका मान्छेहरु बढि गाउँ छोड्दै गएका पाईएको छ ।’ दुर्लुङमा वर्षेनी ३० परिवारले गाउँ छोड्दै गएको वडाको तथ्यांकमा उल्लेख छ । जिल्लाको राम्जा, आर्थरडाडाँर्खक, भोक्सिङ्ग, क्याङ, लेस्पार लगायतका गाउँहरु बसाईंसराईका कारण रित्तिन थालेका छन् । यी गाउँका अधिकाँश बासिन्दाहरु सुबिधाको खोजीमा शहर पसेका छन् । गाउँका घरहरु भत्केका छन्, खेतबारी बाँझो छ ।
‘कुनै समय यस्तो थियो गाउँका सबै भेला भएर गाउँघरमा रोदी गाउँदा पूरै गाउँ गुञ्जायमान हुन्थ्यो, कसैलाई दुःखबिमार पर्दा सयौं भेला भएर समाधान गथ्र्यौैं, अहिले मलामी जाने मान्छे छैनन्,’ मोदी ८ चित्रेकी शिक्षिका सुशीलादेवी गुरुङले विगत स्मरण गर्दै भनिन् । प्रविधियुक्त र अन्तरराष्ट्रिय बजारमा बिक्ने शिक्षा गाउँमै दिन सके अब गाउँबाट पलायन हुने परिवार रोक्न सकिने शैक्षिक जमातको बुझाई छ ।
गाउँमा बसाईंसराई बढेपछि जिल्लाको मोदी– १ भूकदेउरालीका बासिन्दाहरु भने गाउँको विकास गर्ने अभियानमा जुटेका छन् । समूदाय मिलेर गाउँमा होमस्टे चलाएका छन् । गाउँको विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालनको पहल भएको छ । भूकदेउरालीमा पदमार्ग निर्माण गरि पर्यटकको स्वागत गर्न थालिएको छ । तर अन्य गाउँमा बसाईंसराई रोक्ने कुनै प्रयास भएको भने देखिदैन ।