जेठ २९, लमजुङ । यस जिल्लाका अलैंची कृषकले ७५० क्विन्टल अलैंची दाना विक्रीबाट रू.५ करोड २५ लाख आम्दानी गरेका छन् । गत वर्ष उत्पादित ६०० क्विन्टल ७५० क्विन्टल दाना विक्रीबाट रू.४ करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु. ६०० देखि ८०० सम्म विक्री भएको थियो ।
यस वर्ष प्रतिकिलो रू. ६०० देखि ७५० सम्ममा अलैंची दाना विक्री गरेको नेपाल अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङले बताएको छ । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रू.२ हजार २०० सम्म अलैंची दाना विक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन् । अलैंची कृषकले कम्तीमा पनि प्रतिकिलो रू.१ हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैंची दाना विक्री गर्न बाध्य हुँदै आएका छन् ।
यस वर्ष २० लाख अलैंची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५०० बिरुवा विक्री भएको थियो । उक्त अलैंची बिरुवाबाट जिल्लाका कृषकलाई रू. ६४ लाख ९७ हजार ५०० आम्दानी भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका अलैंची कृषक रहेका छन् ।
जिल्लामा ७०० मिटर देखि १ हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र १ हजार २०० मिटरदेखि १ हजार ६०० मिटर उचाइमा गोलसाई र १ हजार ६०० देखि २ हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैंची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैंची बढी लगाउँदै आएका छन् । करीब १ हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैंची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैंची उत्पादन हुँदै आएको छ ।
लमजुङमा उत्पादित अलैंची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैंची दाना विक्री वितरण गर्न सकेनन् । लमजुङमा उत्पादित अलैंचीको दाना भारतमा विक्री हुने गर्दछ । अन्तरराष्ट्रिय मूल्यअनुसार विक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताए । उनले भने, ‘आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत विक्री गर्ने तयारी भइरहेको छ ।’
गत वर्ष अलैंची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैंची भट्टी वितरण गरिएको थियो । यस वर्षसमेत केही दिनमा ४० अलैंची कृषक छनोट गरी अलैंची भट्टी वितरण गरिने अलैंची महासंघ लमजुङले बताएको छ । जिल्लामा ३५ हजार अलैंची कृषक रहेका छन् । रासस