ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नमूना फार्म कार्यक्रमतर्फ युवा आकर्षित

Jun 24, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी
पर्वत । पर्वत र बागलुङमा कृषि पेशाप्रति युवाको आकर्षण बढेको छ । सरकारले ल्याएको नमूना फार्म विस्तार कार्यक्रमले युवालाई कृषि पेशामा आकर्षित गराएको हो । दुई जिल्लामा ७९ ओटा नमूना फार्म तयार भएको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ । वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार तथा व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्दै त्यस्ता फार्म स्थापना गरिएको केन्द्रले बताएको छ । ज्ञान केन्द्रले व्यावसायिक रूपमा तरकारीको मौसमी तथा बेमौसमी खेती गर्न फार्म सञ्चालन हुने जानकारी दिएको छ । व्यावसायिक फार्म सञ्चालन गर्न ज्ञान केन्द्रले हाइटेक टनेल, सिँचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि अनुदान व्यवस्थापन गरिसकेको छ । केन्द्रका अनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । नमूना फार्मका लागि २ लाख ५० हजारदेखि ४ लाख ८५ हजारसम्म अनुदान दिन सम्झौता हुने भएको छ । त्यसमा किसानले ५० प्रतिशत साझेदारी गर्नुपर्ने कार्यविधि छ । ‘फार्म तयार पारेर आएका किसानसँग अनुदान सम्झौता गरिरहेका छौं,’ केन्द्रका बाली संरक्षण अधिकृत नारायण पौडेलले भने, ‘छनोट भएका फार्महरू प्रायः युवाको छ ।’ कार्यालयले विभिन्न ९ ओटा बाली समेटेर नमूना फार्म बनाउन लागेको हो । मिश्रित बालीका ३२, तरकारीका २६, मौरीका १०, सुन्तलाका ५, फलफूलका २, अलैंचीका २, अग्र्यानिक तरकारी, किबी खेती र च्याउका १/१ ओटा नमूना फार्म सञ्चालन गर्न कृषकहरूलाई अनुदान सम्झौता गरी रकम वितरण शुरू गरिएको ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले बताए । ‘धेरै पहिलादेखि यस्ता व्यावसायिक फार्मको परिकल्पना गरेका थियौं,’ रेग्मीले भने, ‘अपेक्षित बजेट अभावले सम्भव भएकै थिएन । इच्छुक किसान पनि लगानी अभावले रोकिएका थिए । अहिले त्यो परिकल्पना पूरा हुँदै छ ।’ सहुलियत ऋण दिने सरकारको कार्यक्रम प्रभावकारी नभए पनि मोडल फार्म कार्यक्रम भने प्रभावकारी हुने अगुवा किसानहरूले बताएका छन् । मोडल फार्मको अवधारणाले पर्वत र बागलुङ एक वर्षमा कृषि उपजमा आत्मनिर्भर हुने अपेक्षा रहेको व्यावसायिक कृषक समेत रहेका कुश्मा–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले बताए । विदेश पलायन हुने युवालाई रोक्न कार्यक्रम प्रभावकारी देखिएको पौडेलले दाबी गरे । कार्यालयमा आवेदन पेश गरेकामध्ये एउटा सामूहिक कृषि फार्म छ । त्यसबाहेक सबै व्यक्तिगत रूपमा कृषि पेशा गर्न निवेदन पेश भएका छन् । ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र ब्लक विस्तार, कृषि वन प्रणाली, साना सिँचाइ र कृषि यन्त्रीकरणलगायतका कृषिमुखी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)