ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अलैंची रोप्ने चटारोमा किसान

Jun 24, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार ९, लमजुङ । मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैंची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैंचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैंचीका बिरुवा लगाउँन थालेका हुन् । करीब ४० रोपनी क्षेत्रफलमा अलैंची रोप्ने तयारी उनले गरेका छन् । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताए । खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त छन् । उनले २५ रोपनी क्षेत्रफलमा ३५ हजार अलैंचीको बिरुवा लगाइसकेको बताए । अझै ३०÷३५ रोपनीमा ५० हजार बिरुवा रोप्नुपर्ने छ । साउनसम्म अलैंची लगाइसक्ने किसान गुरुङले बताए । उनीहरु जस्ता अलैंची किसान यतिबेला सबै अलैंचीका बिरुवा रोप्नमा व्यस्त छन् । लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैंची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक एवं लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए । उनले भने, ‘प्रत्येक वर्ष जेठ महीनाबाट साउन महीनासम्म बिरुवा लगाउने गरिन्छ, बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको छ ।’  यसवर्ष प्रति नर्सरी बिरुवाको मूल्य पाँच रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा प्रति बिरुवा दुई रुपैयाँले कम भएको छ । जिल्लामा साउन्ने, जिर्मले, डम्बरशाही गोलशाही, रामशाही र भलाङे जातका बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । किसानले जिल्लामा रामसाई र गोलसाई जातका अलैंची बढी लगाउँदै आएका छन् । १ हजार ५६ हेक्टर क्षेत्रफलमा अलैंचीखेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैंची उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित् ७५० क्विन्टल अलैंची दाना विक्रीबाट किसानले रू. ५ करोड २५ लाख आम्दानी गरेको बताइएको छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)