कालीगण्डकीमा उत्खनन गर्न रोक : अवैध क्रशर उद्योग बन्द गरिँदै
Jun 26, 2019
 
प्रदेश समाचार
प्रदेश-गण्डकी
पर्वत । कालीगण्डकी नदीमा ढुंगा, गिट्टीलगायत निर्माण सामग्रीको उत्खननमा रोक लगाइएको छ । जिल्लाको जलजला गाउँपालिकाको शुक्रवारको बैठकले नदीमा ३ महीनासम्म उत्खनन गर्न रोक लगाउने निर्णय गरेको हो ।
गाउँपापालिकाको वारीबेनीदेखि दम्भाखोलासम्मको नदीक्षेत्रमा उत्खनन कार्य पूर्णरूपमा बन्देज गरिएको प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । निर्णय अटेर गर्नेलाई दण्ड÷जरीवाना गरिने समेत उनको भनाइ छ । ‘उत्खनन गरेको भेटिएमा ट्र्याक्टरलाई १५ हजार, टिपरलाई २५ हजार र एक्स्क्याभेटर तथा डोजरलाई ६० हजार रुपैयाँ जरीवाना लगाइनेछ,’ उनले भने ।
कालीगण्डकी किनारमा अवैध रूपमा उत्खनन हुँदै आएको छ । अवैध उत्खननविरुद्ध अख्तियारदेखि अदालतसम्म मुद्दा दायर भएको छ । गाउँपालिकाले नियमन नगरेको भन्दै उजुरी परेपछि उत्खननमै रोक लगाउनुपरेको अध्यक्ष यामबहादुर मल्लले बताए । नदीजन्य सामग्री उत्खननमा गाउँपालिकाकाले वर्षेनि लगाउने गरेको ठेक्कासमेत रोकिएको उनको भनाइ छ । ‘अब भदौ लागेपछि मात्रै ठेक्का खुलाउने निर्णय गरेका छौं,’ उनले भने ।
चालू आर्थिक वर्षमा सम्झौताविपरीत उत्खनन गरेको पाइएकाले निर्माण व्यवसायीसँग त्यसको जवाफ माग्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
पालिकाभित्र सञ्चालित अवैध क्रशर उद्योग बन्द गर्ने निर्णयसमेत कार्यपालिकाले गरेको उनले बताए ।
जिल्लामा कालीगण्डकी नदीको अधिकांश क्षेत्र जलजला गाउँपालिकाभित्र पर्छ । वारीबेनी, लामाखेत, मिलनचोक, मोहनचोक, फर्से, दम्भाखोला, लस्ती लगायतका नदी किनारमा एक्स्क्याभेटर लगायतको प्रयोगबाट नदीजन्य सामग्री उत्खनन गरिँदै आएको छ । नदीमा व्यापक दोहन भएकाले पर्यावरण र वातावरणमा असर पुगेको भन्दै स्थानीय बासिन्दाले त्यसलाई रोक्न माग गर्दै आएका छन् ।
वर्षायाममा उत्खननमा रोक लगाइए पनि निकासी कर भने नियमित रूपमा संंकलन गरिने भएको छ । ‘हिउँदमा संकलित नदीजन्य पदार्थको विक्रीबाट आउने कर नियमित रूपमै उठाइनेछ,’ गाउँपालिकाका अध्यक्ष मल्लले भने ।