पर्वत । पर्वतका ६ ओटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा बढी कुश्मा नगरपालिका र सबैभन्दा कम बिहादी गाउँपालिकाको बजेट रहेको छ । जिल्लाका स्थानीय तहको बजेटको प्राथमिकता पूर्वाधार विकास रहेको छ । अधिकांशले विगतका कार्यक्रम समेत दोहोर्याएका छन् भने केही नयाँ कार्यक्रम पनि थपिएका छन् ।
कुश्मा नगरपालिकाले ७९ करोड ८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले बजेट सार्वजनिक गरिन् । कुश्मा नगरपालिकाले पूर्वाधार विकासलाई जोड दिएको छ । पूर्वाधार विकासमा ११ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू. ६६ करोड ५६ लाख ९५ हजारको बजेट पारित गरेको छ । प्रस्तुत बजेटमा चालू एवं साधारण खर्चतर्फ ४३ करोड ७९ लाख ६४ हजार विनियोजन गरिएको छ भने पूँजीगत एवं विकासतर्फ २२ करोड ७६ लाख ७२ हजार विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा झण्डै २० करोड रुपैयाँभन्दा बढीको बजेट तथा योजनाहरू सार्वजनिक गरिएको छ ।
पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३३ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । पैयुँको प्राथमिकतामा सडक परेको छ । जिल्लाको मोदी गाउँपालिकाको आगामी आवमा ४३ करोड ७३ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । गाउँपालिकाले आगामी वर्ष गाउँपालिका भित्रका १६ ओटा वस्तीलाई नमुना बनाउने गरी प्रस्ताव गरेको छ । कुल बजेटमध्ये चालूतर्फ ४ करोड ९५ लाख रुपैयाँ प्रस्ताव गरेको गाउँपालिकाले कुल १४ करोड ८७ लाख रकम पूँजीगततर्फ खर्च गर्ने गरी प्रस्ताव गरेको छ ।
विहादी गाउँपालिकाले आगामी आवका लागि २९ करोड ५८ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । बजेटमा चालू खर्चतर्फ १७ करोड, ४३ लाख र पुँजीगत खर्चतर्फ ११ करोंड, १५ लाख, ३० हजार रुपैंया विनियोजन गरेको उल्लेख गरेको छ । महाशिला गाउँपालिकाले ३४ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाले भने तयारी नपुगेको भन्दै बजेट ल्याउन सकेन । बुधवार जलजलाले पनि नीति तथा कार्यक्रम र बजेट एकैपटक ल्याउन लागेको अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए ।