क्रिकेट खेल्न नेपाली टोली मलेशिया प्रस्थान, को -को छन् टोलीमा ?
Jun 30, 2019
 
खेलकुद
असार १५, काठमाडौं । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आइतवार त्यसतर्फ प्रस्थान गरेको छ ।
कप्तान रोहितकुमार पौडेलले नेतृत्व गर्ने सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् ।
प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिंगापुर छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्माले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यान्माले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को समूहमा भने चार टोली छन् ।
अर्को समूहमा आयोजक मलेशियासँगै, भूटान, हङकङ र थाइल्याण्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ । रासस