इस्टर्न रिजन क्रिकेट प्रतियोगिता : नेपाल चिनसँग भिड्दै
Jul 1, 2019
 
खेलकुद
असार १६, काठमाडौं । मलेशियामा मंगलवारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ बुधवार मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा चीनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि सन् २०१७ मा मलेशियामा नै भएको यस प्रतियोगिताको अघिल्लो संस्करणको फाइनलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
भोलिको उद्घाटनमा दुई खेल हुनेछ जसमा आयोजक मलेशिया र थाइल्याण्ड भिड्नेछन् भने अर्को खेलमा सिंगापुर र चीन भिड्नेछन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नोे दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिंगापुरसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिंगापुर सहभागी छन् ।
प्रतियोगितामा यसअघि आठ राष्ट्रले सहभागिता जनाउने भनिए तापनि प्रतियोगिता शुरु हुनु केही दिनअघिमात्रै म्यान्माले नाम फिर्ता लिएको थियो । समूह ए मा रहेको म्यान्माले नाम फिर्ता लिएसँगै उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका छन् । नेपालले एक खेलमा मात्रै जित हासिल गरे सेमिफाइनलमा स्थान बनाउनेछ ।
त्यस्तै समूह बी मा भने चार राष्ट्र छन् जसमा आयोजक मलेशियासँगै, भुटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउने छन् । यस प्रतियोगिताबाट विजेता बन्ने टोलीले श्रीलंकामा आयोजना हुने यु–१९ एशिया कपमा छनोट हुनेछ । रासस