असार १७, काठमाडौं । मलेसियामा बुधवारदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत खेलमा सिंगापुर विजयी भएको छ । सिंगापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो ।
उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिंगापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । सिंगापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए ।
यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिंगापुरका विनित चितेस मेहताले सात विकेट लिए ।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिंगापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलंकामा आयोजना हुने यू–१९ एशिया कप खेल्ने छ । रासस