नेपालद्वारा चीन १० विकेटले पराजित, शुक्रवार नेपाल सिंगापुरसँग भिड्दै
Jul 3, 2019
 
खेलकुद
असार १८, काठमाडौं(अस) । मलेसियामा जारी एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो ।
५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा नै पूरा गरेको थियो । टस जितेर फिल्डिङ गरेको नेपालले चीनलाई २३ दशमलव १ ओभरमा ५३ रन बनाउँदै अल आउट गरेको थियो ।
जवाफी ब्याटिङमा नेपालका लागि पवन सर्राफले २१ बलमा ४६ रन साथै रित गौतमले १० बलमा १० रन बनाउँदै जित दिलाएका थिए । आक्रामक ब्याटिङ गरेका पवनले ६ चौका र ३ छक्का हानेका थिए ।
बलिङका क्रममा नेपालका लागि सागर ढकालले ६ विकेट लिएका थिए त्यस्तै तिलक राज भण्डारीले ३ र कमल सिंह ऐरीले १ विकेट लिएका थिए । दोस्रो खेल नेपालले शुक्रवार सिंगापुरसँग खेल्नेछ ।
पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू–१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।