असार १८, म्याग्दी(अस) । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पाँच बर्ष अघि बाढीपहिरोले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको पुनर्निर्माण शुरु गरिएको छ ।
बाढीपहिरोले लघुजलविद्युत् परियोजना बगाएपछि अन्धकारमा बस्दै आएका वडा नम्बर २ को लुलाङ, लमसुङ, खोरीया लगायतका ३४० भन्दा बढी घरधुरीका बासिन्दाका लागि नयाँ पूर्वाधार सहित पुनर्निर्माण शुरु गरिएको हो । धवलागिरि गाउँपालिकाको रू. ५० लाख , बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको रू. ८६ लाख लागत र उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट आयोजनाको पुनर्निर्माण शुरु गरिएको हो ।
आयोजनाको क्षमता बढाएर ४३ किलोवाट क्षमतामा पुनर्निर्माण शुरु भएको यस लघुजलविद्युत् परियोजनाको कामलाई तिब्रताका साथ भइरहेकोे उपभोक्ता समितिका सचिब लालबहादुर खड्काथोकीले जानकारी दिए । उनका अनुसार मुहान र पाइपलाईनको काम अन्तिम चरणमा पुगेको छ भने विद्युतगृहको काम समेत शुरु भएको छ । पहिले यस आयोजनाको क्षमता २५ किलोवाटको थियो । यस परियोजनामा उपकरण जडानको सम्झौता ओसिन पावर सर्भिस प्रालिले गरेको छ ।
निर्माण कार्यमा खटिएका प्राविधिक हेमराज रेग्मीले आयोजनाको करीब ४५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइने पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । मुहानतर्फको अधिकाँश काम सम्पन्न भइसकेको छ । पानी ल्याउने पाइपलाईनमा ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाईप विस्तार गर्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुर्जाले बताए ।
विद्युत गृहमा टर्वाइन जडानसंगै अन्य पूर्वाधार निर्माणको काम पनि थालिएको छ । बैशाख देखि पुनर्निर्माण शुरु भएको यस आयोजना निर्माण सम्पन्न गर्न अझै एक डेढ महीना लाग्ने उपभोक्ता समितिले बताएको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत् गृह पुरिनुका साथै नहर बाढीले बगाएपछि पाँच बर्षदेखि लुलाङ, लमसुङ र खोरिया गाउँमा विजुली बलेको छैन ।