ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुपाताल संरक्षणमा परियोजनाले काम थाल्दै, दोस्रो चरणमा मुआब्जा तय

Jul 4, 2019  
प्रदेश समाचार प्रदेश-गण्डकी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १९, पोखरा । तालैतालको बगैंचा शहर लेखनाथमा अवस्थित रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाका लागि दोस्रो चरणमा मुआब्जा तय गरिएको छ । विश्व रामसार सूचीमा सूचीकृत कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना (साबिक लेखनाथ नगरपालिका–१०, ११ र १४) को केही भागले छोएको यस तालमा बढ्दै गएको प्राकृतिक र मानवीय अतिक्रमणको शिकार बन्न थालेपछि परियोजनाअन्तर्गत संरक्षणका काम अघि बढाइएको हो । परियोजनाअन्तर्गत पहिलो चरणमा ३०० रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएकामा बाँध बाँध्न आवश्यक पर्ने थप ७०० रोपनीको मुआब्जा दोस्रो चरणमा निर्धारण गरिएको हो । परियोजनाका प्राविधिक इञ्जिनीयर कृष्ण विकका अनुसार दोस्रो चरणअन्तर्गत तालको तल्लो क्षेत्रका लागि प्रतिरोपनी रू.१२ लाख ९३ हजार र माथिल्लो क्षेत्रका लागि रू. १२ लाख ५० हजार मुआब्जा निर्धारण गरिएको छ । चरणबद्ध अघि बढ्ने परियोजनाको रू.४ अर्ब ५२ करोड लागत अनुमान गरिएको उनले जानकारी दिए । उचित मुआब्जाको मागसहित उक्त क्षेत्रका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, परियोजना कार्यालय एवम् सम्बन्धित निकायमा ध्यानाकर्षण गराएका थिए । ताल संरक्षणको डिपिआर तयार गर्दा तालभित्र पर्ने जग्गालाई सरकारले मुआब्जा दिएर अधिग्रहण गर्दै आएको छ । पहिलो चरणमा ३१० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जसमध्ये अझै करीब सय जनाले मुआब्जा लैजान बाँकी रहेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लि.का निवर्तमान अध्यक्ष कुलप्रसाद अधिकारीले बताए । परियोजनाअन्तर्गत तालको संरक्षणका लागि मुहानबाट आउने पानीलाई तीन ठाउँमा चेक ड्याम बनाएर जम्मा गरिनेछ । जसबाट खोलाले बगाएर ल्याएको ढुंगामुढा, बालुवा तालमा नपुग्ने र पुरिने सम्भावना कम हुनेछ । सिस्टेनीघाट–सुवेदीटुँडामा ६०० मिटर लम्बाइ, जगमा १२ मिटर चौडाइ, छ मिटर उचाइ र पानीको सतहभन्दा चार मिटर माथिसम्म बाँध निर्माण गरिनेछ । जसले पानीको सतह चार मिटर बढाउनेछ । तालको मुख्य स्रोत तालबेंसी खोलाबाट बर्सातमा बगाएर ल्याउने माटो तथा काठपातका कारण बर्सेनी छ रोपनी ताल पुरिएको अध्ययनले देखाउँछ । अहिले यसको औसत गहिराइ चार मिटर छ, संरक्षणपश्चात नौ मिटर हुनेछ । विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले १०७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्यांकअनुसार रूपातालको ८०० रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै साबिक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३ दशमलव ९ हेक्टर रहेकामा जलमग्न भाग १२१ दशमलव ७६ खेती भएको ३३ दशमलव ४३, सिमसार क्षेत्र ८ दशमलव ७५ हेक्टर र गहिराइ औसत ४ दशमलव ८ मिटर छ । सूर्यको किरणसँगै पानीका रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् । रुपातालको संरक्षण र विकासका माध्यमबाट पर्यटकीय विकासका साथै आयआर्जनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको बेगनास रुपाताल संरक्षण तथा पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताए । ‘रुपातालको सौन्दर्य र यसको पर्यटकीय आकर्षण आय आर्जनसँग जोडिनु आवश्यक छ’, उनले भने, ‘प्रस्तावित परियोजना सफल भएसँगै यसको संरक्षण र विकासका साथै पर्यटकीय रुपमा पनि यो महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)