असार १९, म्याग्दी(अस) । पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि लोभलाग्दो गन्तव्यस्थल बन्दै गएको ‘मायालु डाँडा’ मा हरियाली पार्क निर्माण गरिएको छ । सरदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका २ खबराको मायालु डाँडा (लभ्लिहिल) मा डिभिजन बन कार्यालय म्याग्दीको रू.१२ लाखको सहयोगमा हरियाली पार्क निर्माण गरिएको पार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए ।
पार्कमा कपुर,पोनोकस्ताम,लण्डन धुपी र गोल्डेन धुपी गरी चार प्रजातीका ५४ ओटा विरुवाहरु रोपिएका छन् । गत माघ महीनादेखि मायालु डाँडा (लभ्लीहिल) मा पार्क निर्माण शुरु गरिएको थियो । डेढ रोपनी भन्दा बढि क्षेत्रफलमा निर्माण गरिएको सो पार्क यस क्षेत्रकै सवैभन्दा सुन्दर र बालबालिका,युवायुवती र वृद्धवृद्धाका लागि अलग अलग विश्राम स्थल रहेको निर्माण समितिका अध्यक्ष घिमिरेले बताए ।
उनका अनुसार पार्कको सुरक्षाका लागि वरीपरी ३० मिटर लम्वाइको पक्की पर्खाल समेत निर्माण गरिएको छ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको मायाँलु डाँडामा पार्क निर्माण भएपछि पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुने निश्चित रहेको स्थानीय बुद्धिजीवि ध्रुबलाल कार्कीले बताए ।
सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको मायालु डाँडा (लभ्लीहिल) मा हिजोआज म्याग्दीका मात्रै होइन विभिन्न जिल्लाबाट आएका व्यक्तिका साथै विदेशीहरुको समेत भीड लाग्ने गरेको छ । त्यहाँ रेलिङ, गोलघर,खाजाघर लगाएतका पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । पर्यटकीय गन्तव्यको सम्भावना बोकेको मायालु डाँडामा अहिले दिनहुँजसो सयौंको संख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् । स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु पनि पुग्ने गरेका छन् ।
सामान्य समयमासमेत यहाँ मानिसको उपस्थिति देखिन्छ भने विदाको समय र शनिवारको दिनमा त झन् भीड लाग्ने गरेको छ । प्रायः क्याम्पस पढ्ने युवायुवतीहरु देखिन्छन् । प्रवासी म्याग्देलीहरुलाई साझेदार बनाएर नयाँ अवधारणा अनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताए ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।
पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा त्यसक्षेत्रमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना छ ।