मानिस अवसरको खोजीमा यताउता गरिरहने प्राणी भए पनि राज्य व्यवस्थाको उदयपछि मानिस एउटै देशमा बस्ने परिपाटी बसेको हो । आधुनिक राज्य प्रणालीमा पनि नागरिकलाई अन्य देशमा जाने बाटो खुला हुन्छ र जान्छन् पनि । तर, ठूलो संख्यामा आफ्नो देशको नागरिक सधैंका लागि देश छाड्दै छन् भने गम्भीर हुनैपर्छ । कि त आन्तरिक द्वन्द्व चर्को भएर ज्यान जोगाउन विदेशिएको हुनुपर्छ कि त मुलुकभित्र जीवन धान्नै नसक्ने भएर विदेशिएको हुनुपर्छ । तर, नेपालमा अहिले यी दुवै अवस्था नरहे पनि देश छाड्ने त्यसमा पनि सधैंका लागि देश छाड्नेको संख्या बढ्दो छ जुन चिन्ताको विषय हो ।
अध्यागमन विभागका अनुसार गतवर्ष ७१ हजारले स्थायी रूपमा देश छाडेका छन् । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँग यसरी सधैंका लागि देश छाड्नुलाई सकारात्मक लिन सकिँदैन । वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् । नागरिक र सम्पत्तिसमेत विदेशिने क्रम बढ्दै गयो भने त्यो देशको भविष्यमा प्रश्न उठ्न सक्छ । यद्यपि विदेश जाँदा नेपालीहरूले नेपालको चिनारी विश्वभरि फैलाएका छन् । विश्वका १७० भन्दा बढी देशमा पुगेर त्यहाँ नेपालीहरूले विभिन्न पेशा र व्यवसाय गरी नेपालको चिनारी कुनै न कुनै रूपमा राखेका छन् । यसबाट नेपालले फाइदा लिन सक्ने सम्भावनाका क्षेत्र धेरै छन् । नेपाली विदेशिए भनेर चिन्ता लिने कुरा एक ठाउँमा छ । तर, यहाँनेर अवसरको खोजी गर्न भने सरकार चुकेको छ ।
वैदेशिक रोजगारमा जाने त नेपालमा फर्कनैपर्छ । त्यसैले तिनले त्यहाँ कमाएको पैसा नेपाल पठाउँछन् । तर, जो सधैंका लागि देश छाड्छन् तीमध्ये धेरैले कुनै न कुनै रूपमा नेपालको सम्पत्ति विदेश लैजान्छन् ।
नेपालको निर्यात व्यापारको आँकडा निकै कमजोर छ । निर्यात भएका वस्तुको सूची हेर्र्ने हो भने जहाँजहाँ नेपालीको उपस्थिति छ ती देशमा नै नेपाली उत्पादन निर्यात भइरहेको पाइन्छ । अहिले नेपाली अचार उद्योग निकै फस्टाएको छ । अचारको निर्यात व्यापक बढेको छ । त्यो अचार प्राय: विदेशमा बस्ने नेपालीहरू भएकै देशमा भएको पाइन्छ । त्यति मात्र होइन, लन्डन, पेरिस, म्याड्रिड, वार्सिलोना, सिड्नी, मेलवर्नजस्ता विश्वको कुनै पनि ठूला शहरमा नेपाली खाना मजाले खान पाइन्छ । नेपालीहरू स्थायी वा अस्थायी रूपमा जेजसरी गए पनि तिनले नेपालको अर्थतन्त्रलाई कुनै न कुनै रूपमा सहयोग पुर्याएका छन् । विश्वव्यापीकरणले गर्दा नेपालको अर्थतन्त्रले पाएको फाइदा हो, यो । अब यसलाई आलोचना गर्नुभन्दा आफ्नो देशमा तिनलाई फर्काउने वातावरण बनाउनतिर लाग्नुपर्छ । कुनै दिन त नेपाल पनि बलियो बन्ला र फर्कन सकिएला भन्ने सोच धेरैमा पाइन्छ । सुशासन र नीतिगत स्थिरता बन्न सके, कानूनी राज्यको प्रत्याभूति दिन सके पनि धेरै युवा नेपाल फर्केर यहीँ केही काम गर्न तयार छन् ।
त्यसैले सरकारले विप्रेषणले मुलुकको अर्थतन्त्र चलेको छ भनेर सतही कुरा गर्नुभन्दा किन मुलुक छाड्ने लहर चलेको छ भनेर खोजी गरी स्वदेशमा बस्ने र स्वदेशमै केही गरेर देखाउने अवसर सृजना गर्नुपर्छ । रोजगारी सृजना गर्ने काम सरकारको होइन भन्ने तर्क गर्नेहरूले सरकारले केही पनि काम नगर्ने हो भने किन सरकार चाहियो ? जवाफ दिन सक्नुपर्छ । अहिले जेजस्तो तरीकाले युवा विदेशिन मरिहत्ते गरिरहेका छन् त्यो अवस्था हेर्दा मुलुक नरित्तिएला पनि भन्न सकिँदैन । अवसर नपाएर, लगानी गर्ने पैसा नभएर वा ज्यानै फालेर जाने हिम्मत नभएर मात्रै धेरै युवा नेपालमा टिकेका हुन् भन्न सकिने आधार धेरै छन् । त्यसैले अवसर खोजीको कुरा एउटा हो, बाध्यता र रहर अर्कै कुरा हो । यस पक्षलाई मिहीन विश्लेषण गरेर सरकारले काम गर्न ढिला भइसकेको छ । अहिले त झन् देशमा ३ तहका सरकार छन् । युवाले धमाधम देश छाडिरहँदा तीन तहका सरकार के गर्दै छन् ? जनतालाई जवाफ दिनुपर्छ ।