ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जडीबुटीले बदलियो जीवन

Oct 8, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । बझाङ चैनपुरका विष्णु बुढाले १ वर्षअघि कैलालीको धनगढीमा घर खरीद गरेका छन् । ७ वर्षसम्म भारतको हरियाणामा चौकीदारी काम गरेका उनले दैनिक घरखर्च चलाउन समस्या भएपछि ५ वर्षअघि मात्र स्वदेशमै जडीबुटी व्यवसाय शुरू गरेका थिए । उक्त व्यवसायको आम्दानीले उनी ५६ लाख रूपैयाँमा सुविधासम्पन्न घर किन्न सफल भएका हुन् । त्यसैगरी कामको खोजीमा भारतका विभिन्न शहर भौतारिने दार्चुलाका प्रेमसिंह कार्कीले सदरमुकाम खलङ्गामा घरजग्गा जोडेको ३ वर्ष भयो । वर्षभरि भारतमा काम गर्दा पनि घर फर्कंदा उनको ३–४ हजार मात्र जोगिन्थ्यो । उनले पनि स्वदेशमै जडीबुटी व्यवसाय गरेर उक्त जग्गा जोडेका हुन् । ३ वर्ष मलेशिया बस्दासमेत खासै उपलब्धि नभएपछि दार्चुला लेकमका नन्दराज जोशीले स्वदेश फर्केर जडीबुटी व्यवसाय गरे । यो व्यवसायमा पाएको सफलताकै कारण उनले पनि कञ्चनपुरको महेन्द्रनगरमा घर किनेका छन् । यार्सागुम्बालगायत जडीबुटीको व्यापारमा लागेपछि बुढा, कार्की र जोशीको जीवनस्तर फेरिएको छ । ७ नम्बर प्रदेशका ७ पहाडी जिल्ला जडीबुटीको भण्डार हो । जडीबुटीको भण्डार उपयोगमा ल्याउने व्यवसायीको जीवन नाटकीय रूपमा फेरिएको मात्रै छैन, हिजोसम्म गरीबीको रेखामुनि रहेकाहरूका लागि जडीबुटी वरदान नै सावित भएको छ । आफ्नै देशमा राम्रो आम्दानी हुने भएपछि विदेशको सपना बिर्सेको बताउने जोशीले गतवर्ष यार्सागुम्बाबाट करीब ६ लाख कमाए । यो व्यवसायमा लागेपछि बझाङ बुङ्गलका विश्वबहादुर खत्रीलाई पनि मजदूरीका लागि भारत जानुपरेको छैन । ‘पहिले त पाखोमा उब्जेको अनाजले २ महीना पनि खान पुग्दैनथ्यो,’ उनले भने, ‘यो व्यवसायमा लागेपछि वर्षभरि खान पुग्ने खेत र राम्रो घर पनि बनाएको छु ।’ ७ नम्बर प्रदेशका पहाडी जिल्लाका यी प्रतिनिधि पात्र मात्र हुन् । यहाँका धेरै स्थानीय व्यक्तिहरूले जडीबुटीको महत्त्वलाई पहिचान गर्न सकेका कारण आफ्नो जीवनचोला नै फेर्न सफल भएका छन् । सेती र महाकाली अञ्चलमा रहेका ७ सयभन्दा बढी प्रजातिका जडीबुटीको पहिचान गरी विदेश निर्यात गर्न सके नेपालकै अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्ने विज्ञहरूको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य गोपाल हमालले ७ नम्बर प्रदेशवासी ‘सुनको शिरानी हालेर नूनको खोजीमा भौंतारिरहेको’ बताए । ‘सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा रहेका जडीबुटी पहिचान गरी तिनको सदुपयोग गर्न सके यहीँ सुन फल्न सक्छ,’ उनले भने । त्यसैगरी, कैलाली उवासङ्घका पूर्वअध्यक्ष दिनेशराज भण्डारी राज्यले जडीबुटीलाई आर्थिक उन्नतिको मेरुदण्ड घोषणा गरेर प्रवद्र्धन गर्न सके आर्थिक समृद्धि टाढा नभएको बताए । राज्यले जडीबुटीका लागि बजार निर्माण गरिदिए यो प्रदेशका अधिकांश मानिस आर्थिक रूपमा सक्षम बन्ने निजीक्षेत्रको भनाइ छ । यो व्यवसायलाई अघि बढाउन वैधानिक रूपमा सहजताको पनि उत्तिकै खाँचो भएको व्यवसायीहरू बताउँछन् । ८ वर्षअघि यार्सागुम्बा व्यापारलाई वैधानिकता दिएकै कारण पछिल्लो समय यसको कारोबार बढेको छ । राज्यको नीति–नियममा रहेर यार्सागुम्बा खोज्न पाउँदा स्थानीयमा उत्साह थपिएको छ । राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायमा स्थानीयवासीको ध्यान केन्द्रित हुन थालेको छ । यो व्यवसायको कमाइकै कारण सदरमुकाम खलङ्गामा हरेक वर्ष घरजग्गाको कारोबार पनि बढ्दै गएको छ । विशेषगरी खलङ्गाको उत्तरी भेगका १८ गाविसका बासिन्दाहरू जडीबुटीतिर व्यवसायप्रति आकर्षित भएका छन् । सरकारले दार्चुलाका २१ गाविसलाई समेटेर अपी–नाम्पा संरक्षण क्षेत्र घोषणा गरेको छ । दार्चुला उवासङ्घका पूर्वअध्यक्ष मङ्गलसिंह ठगुन्नाले यार्सागुम्बाको सङ्कलन कार्य २ महीनामा हुने गरे पनि कारोबार भने वर्षैभरि भइरहने बताए । वर्षेनि करीब ५० करोडबराबरको यार्सागुम्बाको कारोबार हुने गरेको उनले जानकारी दिए । अपी–नाम्पा संरक्षण क्षेत्रका अनुसार जडीबुटीबाट दार्चुलामा मात्र वार्षिक करीब ५० लाख राजस्व सङ्कलन हुने गरेको छ । अपी–नाम्पा संरक्षण क्षेत्रलाई व्यवस्थित गरी जडीबुटी व्यवसायलाई प्रोत्साहन गरिए आम्दानी थप बढ्ने व्यवसायीको भनाइ छ । ७ नम्बर प्रदेशका पहाडी जिल्ला दार्चुलाको अपी, बझाङको सैपाल पाटनमा यार्सा सङ्कलन हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)