लामो समयसम्मको अड्कलबाजीलाई अन्त्य गर्दै अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हात पारेका छन् । सोमवार नोबेल पुरस्कार प्रदायक संस्था रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस)ले युनिभर्सिटी अफ सिकागोका ७२ वर्षीय प्राध्यापक थेलरलाई सो पुरस्कार दिएको हो । अर्थशास्त्रलाई मनोविज्ञानसँग आबद्ध गर्दै ‘बिहेभरियल इकोनोमिक्स’ (व्यावहारिक अर्थशास्त्र)मा दिएको योगदानका लागि उनलाई सो पुरस्कार दिइएको छ । उनले मानवीय गुणले व्यक्तिगत निर्णयका साथै बजारलाई कसरी प्रभावित बनाउँछ भन्नेबारे अनुसन्धान गरेका छन् ।
‘समग्रमा थेलरको योगदानले अर्थशास्त्र र व्यक्तिगत निर्णय प्रक्रियाको मनोवैज्ञानिक विश्लेषणबीचको सेतु निर्माण गरेको छ,’ आरएसएओएसले एक विज्ञप्तिमा बताएको छ । थेलरले ९० लाख स्वीडिश क्रोन (११ लाख अमेरिकी डलर) बराबरको पुरस्कार राशि जितेका छन् । पछिल्लो समय व्यावहारिक अर्थशास्त्रले आर्थिक अनुसन्धान र नीतिको विभिन्न क्षेत्रमा गहिरो प्रभाव पारिरहेको छ । थेलरको व्यावहारिक खोज र सैद्धान्तिक अन्तर्दृष्टि नयाँ र तीव्र गतिमा बढिरहेको व्यावहारिक अर्थशास्त्रको क्षेत्रमा निकै उपयोगी पाइएको छ ।
थेलरलले ‘मानसिक लेखाजोखा’ (मेण्टल एकाउण्टिङ)को सिद्धान्त विकास गरेका छन् । यस सिद्धान्तले मानिसहरूले आफ्नै दिमागमा आ–आफ्नै खालको लेखाजोखा गरेर वित्तीय निर्णयहरू गर्छन् भन्ने व्याख्या गर्दछ । यसबाहेक उनी ‘नजिङ’ सिद्धान्तका प्रणेतामध्येका एक पनि हुन् । अल्पकालीन अवधिको लाभमा लोभिएर वृद्धावस्थाका लागि योजना बनाउन र बचत गर्न अनिच्छुक मानिसलाई सरकारी आदेशभन्दा साथीभाइ, इष्टमित्रबाट प्राप्त हुने सुझावले बढी प्रेरित गर्ने उनले सिद्ध गरेका छन् । थेलरको अनुसन्धानमा सीमित तार्किकता (लिमिटेड राशनालिटी), सामाजिक प्राथमिकता र आत्मनियन्त्रणको अभावले कसरी व्यक्तिगत निर्णय तथा बजारको अवस्थालाई प्रभावित बनाउँछ भन्ने देखाइएको छ ।
सीमित तार्किकता : थेलरले विकास गरेको ‘मानसिक लेखाजोखा’को सिद्धान्तले मानिसहरूले आफ्नो दिमागमा छुट्टै हिसाबकिताब गरेर कसरी आर्थिक निर्णयलाई सरल बनाउँछन् भन्ने व्याख्या गरिएको छ । यस क्रममा उनले हरेक व्यक्तिगत निर्णयको बृहत् प्रभावभन्दा सङ्कीर्ण प्रभावमा ‘फोकश’ गरेका छन् । मानिसहरूले आफूसँग नभएकोभन्दा भएको वस्तुलाई बढी महत्त्व किन दिन्छन् भन्नेबारे पनि उनले व्याख्या गरेका छन् । यसलाई ‘इण्डोमेण्ट इफेक्ट’ भनिन्छ ।
सामाजिक प्राथमिकता : ‘सुपथ’ (फेयरनेश)को अवधारणाबारे थेलरले गरेको सैद्धान्तिक र प्रयोगात्मक अनुसन्धान पनि निकै प्रभावकारी छ । यस अनुसन्धानमा उनले कसरी उच्च माग भएको बेलामा समेत कम्पनीहरू उपभोक्ता रिसाउँछन् भन्ने डरले मूल्य बढाउँदैनन्, तर लागत बढेको बेलामा चाहिँ मूल्य बढाउन हिच्किचाउँदैनन् भन्ने देखाएका छन् । थेलर र उनका सहकर्मीहरूले विकास गरेको डिक्टेटर गेमलाई विश्वभरका विविध मानवीय समूहको निष्पक्षतासम्बन्धी मनोवृत्ति मापन गर्ने विभिन्न अध्ययनहरूमा प्रयोग गरिँदै आएको छ ।
आत्मनियन्त्रणको अभाव : थेलरले नयाँ वर्ष शुरू हुँदा मानिसहरूले गर्ने सङ्कल्प किन पालना हुँदैन भन्नेबारे पनि थप प्रकाश पारेका छन् । त्यसैगरी, ‘प्लानर डुअर’ मोडलको प्रयोग गरेर उनले आत्मनियन्त्रण गर्न नसक्ने समस्याको विश्लेषण गर्ने तरीका पनि देखाएका छन् । यो मोडल मनोचिकित्सक र न्यूरोसाइण्टिष्टहरूले दीर्घकालीन योजना र अल्पकालीन क्रियाकलापबीचको आन्तरिक द्वन्द्वको व्याख्या गर्न अहिले प्रयोग गरिरहेको ढाँचाजस्तै छ । अल्पकालीन प्रलोभनलाई दबाउन नसक्नु नै वृद्धावस्थाका लागि बचत गर्ने वा स्वस्थकर जीवनशैली अपनाउने हाम्रो योजना असफल बनाउने प्रमुख तŒव हो भनेर थेलरले व्याख्या गरेका छन् । आफ्नो व्यावहारिक अध्ययनमा थेलरले ‘नजिङ’ले पेन्सनका साथै अन्य सन्दर्भमा समेत कसरी मानिसहरूलाई दरिलो आत्मनियन्त्रण गर्न प्रेरित गर्दछ भन्ने देखाएका छन् ।
शिक्षा : न्यू जर्जीमा जन्मिएका थेलरले सन् १९६७ मा केश वेष्टर्न रिजर्भ युनिभर्सिटीबाट स्नातक तहको डिग्री हासिल गरेका थिए । उनले युनिभर्सिटी अफ रोचेष्टरबाट सन् १९७० मा स्नातकोत्तर र सन् १९७४ मा विद्यावारिधि हासिल गरेका थिए ।
थेलरका ‘नज’, ‘क्वाजी–राशनल इकोनोमिक्स’, ‘दि विनर्स कर्स : प्याराडक्सेस एण्ड एनामोलिज अफ इकोनोमिक लाइफ’ र ‘एड्भान्स इन विहेभरियल फाइनान्स’ पुस्तक प्रकाशित छन् । थेलर नोबेल पुरस्कार जित्ने युनिभर्सिटी अफ सिकागोका ७९औं विद्वान् हुन् । त्यस्तै, सोही युनिभर्सिटीबाट अर्थशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्ने भने उनी २८औं व्यक्ति हुन् ।
गत वर्षको पुरस्कार
गत वर्ष करारको सिद्धान्तमा गरेको योगदानका लागि हार्वर्ड युनिभर्सिटीका प्राध्यापक ओलिभर हार्ट र म्यासाच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीका बेङ्ट होेल्म्ष्ट्रोमलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । यो बीमा नीति र कार्यकारीहरूको तलब निर्धारणमा निकै उपयोगी सावित भएको छ । एजेन्सी