ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्षिण कोरियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध लगाउने कानून पारित 

२०८० पुस, २४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सिओल (दक्षिण कोरिया) । दक्षिण कोरियाले सन् २०२७ सम्म कुकुरको हत्या तथा उसको मासु विक्री अन्त्य गर्ने लक्ष्य राखेको कानून पारित गरेको छ । यो कानूनको उद्देश्य कुकुरको मासु खाने त्यहाँको शदियौं पुरानो चलन अन्त्य गर्ने हो । 

पछिल्ला केही दशकमा कुकुरको मासु भोजनमा समावेश हुन छाडेका छन् । विशेषगरी युवाहरूले यसलाई रुचाउने गरेका छैनन् । 

कानूनअनुसार, मासु उपभोगका लागि कुकुर पाल्न वा मार्न प्रतिबन्ध गरिनेछ । साथै कुकुरको मासु वितरण वा बेचबिखन गर्न पनि निषेध गरिनेछ । यस्तो गरेको पाइएमा जेल सजाय हुन सक्ने व्यवस्था गरिएको छ । 

कानूनअनुसार, कुकुर काट्नेलाई तीन वर्षसम्म जेल सजाय हुनसक्छ भने मासुको लागि कुकुर पाल्ने वा कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । यद्यपि, कुकुरको मासुको उपभोग गैरकानूनी भने हुनेछैन । 

नयाँ कानून तीन वर्षमा लागू हुनेछ, जसबाट किसान तथा रेष्टुरेन्ट व्यवसायीलाई रोजगारी तथा आम्दानीको वैकल्पिक स्रोत खोज्न समय मिल्नेछ । उनीहरूले आफ्नो व्यवसायलाई चरणबद्ध तरिकाले समाप्त गर्ने योजना आफ्नो स्थानीय अधिकारीसमक्ष प्रस्तुत गर्नुपर्नेछ । 

सरकारले कुकुरको मासु उत्पादन वा विक्री वितरण गर्दै आएका किसान, कसाई र रेस्टुरेन्ट सञ्चालकलाई पूर्णरूपमा सहयोग गर्ने वाचा गरेको छ, यही कारण उनीहरूलाई व्यवसाय बन्द गर्न बाध्य पारिनेछ । यद्यपि उनीहरूलाई दिइने क्षतिपूर्तिको प्रस्ताव भने अझै तयार गरिएको छैन । 

सरकारी तथ्याङ्क अनुसार, दक्षिण कोरियामा सन् २०२३ मा करीब १६०० कुकुरको मासु रेस्टुरेन्ट र १ हजार १५० कुकुर फार्महरू थिए । 

कुकुरको मासुको स्टू, जसलाई ‘बोशिनटाङ’ भनिन्छ, यो दक्षिण कोरियाली ज्येष्ठ नागरिकहरूको स्वादिष्ट व्यञ्जन मानिन्छ । तर, यो मासु अहिलेका युवामाझ भने ‘लोकप्रिय’ छैन । 

गत वर्षको सर्वेक्षणका अनुसार, केवल ८ प्रतिशतले मात्रै गत १२ महिनामा कुकुरको मासु खाएको बताएका थिए । यो संख्या सन् २०१५ को भन्दा २७ प्रतिशत कम हो । सर्वेक्षणमा सहभागीहरूमध्ये पाँच जनामा एक जनाभन्दा कमले आफूहरू मासु खपतको समर्थन गर्ने बताएका थिए । 
१९८० दशकको पछिल्ला सरकारहरूले कुकुरको मासु प्रतिबन्ध लगाउने प्रतिबद्धता गरेका थिए । तर, प्रगति हासिल गर्न भने सफल भएनन् । 

वर्तमान राष्ट्रपति युन सुक येओल र प्रथम महिला किम केओन हे पशु प्रेमी हुन् । दम्पतीसँग ६ ओटा कुकुर छन् । किमले कुकुरको मासु खाने प्रथा अन्त्य गर्न आह्वान गरेकी छन् ।

कुकुरको मासु प्रतिबन्धका लागि लामो समयदेखि दबाब दिइरहेका पशु अधिकार समूहले नयाँ कानूनमा भएको उक्त व्यवस्थाको प्रशंसा गरेका छन् । 

कोरियामा ह्युमन सोसाइटीकी कार्यकारी निर्देशक जंग आह चाइले आफ्नो जीवनकालमा प्रतिबन्ध देखेर अचम्मित भएको बताइन् । ‘यद्यपि, मेरो हृदय लाखौं कुकुरहरूको लागि टुटेको छ, जसको लागि यो परिवर्तन धेरै ढिलो भएको छ, म खुसी छु कि दक्षिण कोरियाले अब हाम्रो इतिहासको यो दु:खद अध्याय बन्द गर्न सक्छ र कुकुरमैत्री भविष्यलाई अँगाल्न सक्छ,’ उनले भनिन्।

कुकुरको मासु फर्म सञ्चालन गरेका किसानले प्रतिबन्धको विरोधमा अभियान चलाएका थिए । युवाहरूमाझ घट्दै गएको लोकप्रियतालाई हेर्दा यो प्रथालाई समयसँगै स्वभाविकरूपमा खतम गर्नुपर्ने उनीहरूको तर्क छ । कुकुरको मासु उत्पादन तथा विक्री वितरणमा संलग्न वृद्ध किसान र रेष्टुरेन्ट सञ्चालकले भने आजीविका बदल्न समस्या हुने बताएका छन् । 

किसान जु येओङ–बोङले बीबीसीलाई यस्ता उद्योग निराशाजनक अवस्थामा रहेको बताए । ‘...अब हामीसँग हाम्रो जीविकोपार्जन गुमाउनुको विकल्प छैन,’ उनले भने, ‘यो मनपर्ने खानेकुरा खाने पाउने स्वतन्त्रताको हनन हो।’ बीबीसी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)