छठ नजिकिँदै गर्दा डोम समुदाय बाँसको चोयाबाट सामग्री बनाउन व्यस्त
Oct 11, 2017
 
बजार
रौतहट । तराईवासीको महान् पर्व छठ नजिकिँदै गर्दा तराई मधेशमा छठ पर्वलाई लक्षित गर्दै डोम जातिले बाँसको चोयाबाट बनाएका सामग्रीको बजार चन्द्रनिगाहपुरलगायत तराईका विभिन्न क्षेत्रमा फष्टाएको छ । कडा मेहनत र लगनका साथ छठ पर्वका लागि बाँसको चोयाबाट ढाकी (ढकिया), नाङ्लो, टपरीलगायतका सामग्री अत्यधिक रूपमा विक्री भइरहेको छ । उनीहरूले बनाएका यिनै सामग्रीमा छठ पर्वमा धूप, अगरबत्ती, मिठाई र फलफूल राखेर पूजा गर्ने चलन छ । डोमले बनाएका बाँसका सामग्री जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुरलगायत विभिन्न बजारमा विक्री भइरहेका छन् । चन्द्रपुर नगरपालिका वस्तिपुर बस्ने जदुनन मल्लिक (डोम)ले बाँसको सामग्री बेचेर २०/२५ हजार रुपैयाँसम्म कमाउने गरेको बताए । छठ पर्व नजिकिँदै गर्दा यसको माग बढेकाले अहिले गाँउ र हाटबजारमा विक्री हुने गरेको उनले बताए । प्रतिबाँस ९० देखि सय रुपैयाँसम्ममा खरीद गरेर बाँसका सामग्री बनाउने गरेको उनले बताए । तराई मधेशमा परम्परागत रूपमै हस्तशिल्पकलामा मेहत्तर वा मल्लिक भनेर चिनिने डोम जातिलाई कुशल मानिन्छ । महान् चाड छठ पर्वलगायत अन्य पूजापाठमा अत्यावश्यक रहेका बाँसका सामग्रीको माग बढी भएकाले सो पेशा फष्टाउँदै गएको हो । यता रौतहटका किसानले भने बाँझो खेतको किनारमा बाँस रोपेर अतिरिक्त आम्दानी गरेका छन् । बाँसको माग बढेकाले पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।
बाँसमा धेरै मेहनत र लगानी नपर्ने र राम्रो आम्दानी हुने भएकाले खेतको किनारमा बाँस रोपेको चन्द्रपुर ७ का मुकुन्द ठकुरीले बताए । बाँस किन्न जिल्ला तथा बाहिर जिल्लाबाट व्यापारीहरू आउने गरेको उनको भनाइ छ । तराईमा बाँसको उत्पादन राम्रो हुने भएकाले किसान यसतर्फ आकर्षित भएको जिल्ला कृषि कार्यालय रौतहटले जनाएको छ । उत्पादन भएका बाँस देशका विभिन्न शहरसम्म पुग्ने गरेको छ ।