ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० जीवन बीमा कम्पनीको नाफा ५८ करोडभन्दा बढी

Nov 19, 2017  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । बीमाक्षेत्रमा व्यवसायलाई नाफामुखी बनाउन सकिने अभिप्रायले यस वर्ष आठ जीवन बीमा कम्पनी थपिएका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने १० जीवन बीमा कम्पनीको अवस्था हेर्दा प्रतिस्पर्धी बजारमा आफूलाई स्थापित गर्दै सबै कम्पनीले नाफालाई बढाएका छन् । गतवर्षमा ती कम्पनीहरूले आर्जन गरेको नाफालाई यस वर्षसँग तुलना गर्दा नाफा बढेको देखिएको हो । करीब १ सय ३६ प्रतिशत वृद्धि देखिएको १० कम्पनीको नाफा रू. ५८ करोड २४ लाख ५८ हजार रहेको छ । पूँजी वृद्धिको अभियानमा रहेको जीवन बीमा कम्पनीहरूको यस वर्षको पहिलो त्रैमासमा नाफामा देखिएको वृद्धिले पूँजीवृद्धि पु¥याउन थप सहज हुने देखिन्छ । कम्पनीहरूले नाफाको आधारमा लाभांश वितरण गरी पूँजी पु¥याउनुपर्ने अवस्थामा नाफा बढेकाले आत्तिनुपर्ने अवस्था नरहेको कम्पनीहरूले बताएका छन् । यसै वर्ष असोज ६ गतेदेखि औपचारिक रूपमा कारोबार शुरू गरेको युनियन लाइफले पहिलोपटक सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गतवर्षको तुलनामा २ सय ४ प्रतिशत वृद्धि गर्दै रू. ३ करोड ८० लाख ४५ हजार नाफा कमाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बीमाशुल्क र ब्याज आर्जनबाट उक्त नाफा कमाउन सफल भएको बताए । उनले बीमा गराउने बजार अझै खाली रहेको भन्दै आफूहरूलार्ई व्यवसाय सञ्चालनमा कुनै कठिनाइ नरहेको उल्लेख गरे । त्यस्तै, भदौ १ गतेदेखि कारोबार शुरू गरेको आईएमई लाइफ पनि असोज मसान्तसम्ममा रू. ३ करोड २४ हजार नाफा आर्जन गर्न सफल देखिएको छ । यस अघिदेखि सञ्चालनमा रहेका अन्य आठ कम्पनीमध्ये सबैभन्दा बढी नाफा सूर्या लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले गरेका छन् । यी कम्पनीले गतवर्षको तुलनामा ४ गुणासम्म नाफा बढाएका हुन् । पहिलो त्रैमासमा सूर्या लाइफले रू. ५ करोड २२ लाख ८७ हजार र लाइफ इन्स्योरेन्स कर्पोरेशनले रू. ३ करोड ६३ लाख ६८ हजार नाफा आर्जन गरेका छन् । रकमको हिसाबमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । नेपाल लाइफले ३ गुणा बढाएर रू. १७ करोड ७४ लाख ५४ हजार नाफा आर्जन गरेको छ । पूँजीवृद्धि योजनामा पहिला नै तोकिएभन्दा बढी चुक्ता पूँजी पुर्‍याइसकेको नेपाल लाइफले नाफामा राम्रो प्रगति गरेको छ । वृद्धिको हिसाबमा सबैभन्दा कम एशियन लाइफको छ । एशियनले गतवर्षको तुलनामा ९ प्रतिशत रकम वृद्धि गर्दै रू. १ करोड ५८ लाख २९ हजार नाफा कमाएको हो । बीमा समितिले तोकेबमोजिम रू. २ अर्ब चुक्तापूँजी पुर्‍याउन कार्ययोजनासहित अघि बढेका जीवन बीमा कम्पनी शुक्रवारदेखि रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालनसँगै १७ पुगेका छन् । आगामी असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीले रू. १ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)