माइक्रो फाइनान्सप्रति ग्रामीण समुदायको बढ्दो आकर्षण
Dec 3, 2017
 
बजार
धनगढी । पछिल्लो समय सामूहिक जमानीमा सहज रूपमा कर्जा उपलब्ध हुने भएपछि धनगढीका ग्रामीण समुदायको आकर्षण माइक्रो फाइनान्सप्रति बढ्दै गएको छ । १ वर्षअघि कञ्चनपुरको बेलौरीमा कर्पोरेट कार्यालय स्थापना गरी व्यवसाय शुरू गरेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाप्रति विशेष गरी थारू, दलित, आर्थिक रूपमा विपन्न परिवार तथा सिङ्गो ग्रामीण समुदाय नै आकर्षित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नुनारायण चौधरीले जानकारी गराए । सामूहिक जमानीका आधारमा सहज रूपमा व्यक्तिलाई कर्जा उपलब्ध गराउन थालेपछि छोटो समयमै दर्जनौं समूह र केन्द्र बनाउन संस्था सफल भएको उनले बताए ।
चालू आवको कात्तिक मसान्तसम्म संस्थाले बेलौरी र धनगढी शाखामार्फत १ हजार २ सय समूह सदस्य र १ सयओटा केन्द्र निर्माण गरिसकेको छ । पाँच जनाको एउटा समूह बन्छ भने १० देखि २५ जनासम्मको एउटा केन्द्र बन्ने गरेको चौधरीले बताए । संस्थाले आफ्नो पहिलो वार्षिक साधारणसभाबाट ३० प्रतिशत थप पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गरेको उनले बताए । ‘दोस्रो वार्षिक साधारणसभाबाट सर्वसाधारणका लागि पनि हकप्रद शेयर जारी गर्ने तयारीमा जुटेको उक्त संस्थाको कुल चुक्ता पूँजी १ करोड १० लाख ५० हजार रहेकोमा ३० प्रतिशत हकप्रद शेयर जारीपछि संस्थाको कुल चुक्तापूँजी २ करोड ७६ हजार पुग्नेछ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै शेयरपूँजी वृद्धि गर्ने हो ।’
उनका अनुसार चालू आवभित्र कैलालीमा तीन र डोटीमा एउटा शाखा विस्तार गर्ने योजनामा संस्था रहेको छ । यसअघि धनगढीमा शाखा विस्तार गरिसकेको छ । संस्थाको लगानीमा रहिरहेको पूँजी साढे ४ करोड छ । संस्थामा आबद्ध सदस्यहरूबाट गरी चालू आवको कात्तिक मसान्तसम्म २५ लाख रुपैयाँ निक्षेप सङ्कलन भएको छ ।
नेपाल राष्ट्र बैङ्कले १८ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण लगानी नगर्न निर्देशन दिएपछि संस्थाले अपेक्षित रूपमा मुनाफा आर्जन गर्न नसकेको चौधरीको भनाइ छ । पहिले ८ प्रतिशत ब्याजदरमा विभिन्न वाणिज्य बैङ्कहरूबाट ऋण लिएर माइक्रो फाइनान्सले २२–२५ प्रतिशतसम्ममा कर्जा लगानी गर्न दिन्थ्यो भने पछिल्लो समय हामीले वाणिज्य बैङ्कबाट १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर ४ प्रतिशतको मार्जिनमा मात्रै लगानी गर्नुपर्ने अवस्थाका कारण संस्था व्यवस्थापनमा समस्या हुने गरेको उनको गुनासो छ । यो विषयमा हामीले राष्ट्र बैङ्कलाई जानकारी गराइसकेकाले राष्ट्र बैङ्कले मनन गरी हेरफेर गर्ने आश्वासन दिएको पनि उनले बताए । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका माइक्रोफाइनान्सलाई विशेष सुविधा दिनुपर्ने माग चौधरीको छ ।