ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको नारच्याङमा १ सय ५७ मेगावाटका ५ जलविद्युत् अयोजना

Dec 10, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १ सय ५७ मेगावाटका पाँचओटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । सदरमुकाम बेनीबाट ४ घण्टाको सवारी यात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्याङ्कनको चरण पार गरेर निर्माणको अवस्थामा प्रवेश गरेका छन् । त्यसैगरी, म्याग्दीका उद्योगी, व्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । घलेम्दीले आगामी चैतभित्र विद्युत् उत्पादन शुरू गर्ने तयारी गरेको छ । ३८ करोड ५० लाख रुपैयाँ संस्थापक शेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम डेभलपमेण्ट बैङ्कले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । ‘अहिले सुरुङमार्गमा फिनिसिङको काम भइरहेको छ,’ घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदीले भने, ‘विद्युत्गृह निर्माणलाई तीव्र बनाएका छौं, कुनै समस्या आएन भने ७ महीनाभित्र विद्युत् उत्पादन गर्नेछौं,’। त्यसैगरी रोबष्ट इनर्जीले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ष्ट्रक्शनले बाँध, सुरुङ र विद्युत्गृहको निर्माणकार्य एकैसाथ अघि बढाएको छ । ‘निर्माण शुरू गरेको १३ महीनाभित्र ३० प्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीको भनाइ छ । करीब ६ अर्ब रुपैयाँ लाग्ने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी र नविल बैङ्कले १/१ अर्ब रुपैयाँ लगानी गरेका छन् भने नबिलकै अगुवाइमा अन्य पाँचओटा बैङ्कले २ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजनाले २०७५ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । ३८ मेगावाट क्षमताको नीलगिरिले सडक निर्माणको कामलाई तीव्र बनाएको छ । मिस्त्रीको बाँधस्थल, घलेम्दीको विद्युत्गृह हुँदै अघि बढ्ने नीलगिरिले करीब २० किलोमिटर सडकको ट्र्याक खोल्ने बताएको छ । सरकारले सन् २०११ मा ‘पर्यटकीय गाउँ’ घोषणा गरेको नारच्याङलाई हाल आएर स्थानीय र सरोकारवालाले ‘हाइड्रो भिलेज’ नामकरण गरेका छन् । एउटै गाउँमा यतिधेरै जलविद्युत् आयोजना निर्माण हुन थालेपछि यो गाउँ ‘हाइड्रो भिलेज’मा परिणत भएको हो । गाउँपालिकाले पारित गर्‍यो जलविद्युत्मैत्री नीति नारच्याङमा जलविद्युत् आयोजनाको आकर्षण देखेर अन्नपूर्ण गाउँपालिकाले गाउँसभामार्फत जलविद्युत्मैत्री नीति पारित गरेको छ । नारच्याङमा निर्माणाधीन र निर्माण प्रक्रियामा रहेका आयोजनाका साथै गाउँपालिकाअन्तर्गत निर्माण हुने ११ मेगावाटको घारखोला, १ सय ६५ मेगावाटको कालीगण्डकी गर्ज, ६५ मेगावाटको अपर कालीगण्डकी आयोजनालाई समयमै सम्पन्न गर्ने वातावरण सृजनाका लागि गाउँपालिकाले यस्तो नीति पारित गरेको बताइएको छ । ‘यहाँ थुप्रै जलविद्युत् आयोजना बन्ने क्रममा छन् भने थुप्रै लाइसेन्स लिएर बसेका छन्, सबैलाई समयमै सम्पन्न गर्ने वातावरण सृजना गर्न हामीले यस्तो नीति लिएका छौं,’ गाउँपालिका प्रमुख डमबहादुर पुन भन्छन्, ‘आयोजनामा आइपर्ने समस्या हल गर्न गाउँपालिका तयार छ ।’ गाउँपालिकाले ‘उज्यालो घर, अन्नपूर्णको भर’ नारा लिएर ती आयोजनामा संस्थागत रूपमा लगानीसमेत गर्ने योजना बनाइएको प्रमुख पुनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)