ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको ‘बेलढुङ्गा’ बन्यो पर्यटकीय सुन्दर गन्तव्य

Dec 10, 2017  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीय स्थल बेलढुङ्गा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ । समुद्री सतहदेखि झण्डै २ हजार ८ सय मिटर उचाइमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक तथा बा≈य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो । जिल्लाको सदरमुकाम बेनीबाटनजिक रहेको बेलढुङ्गाबाट म्याग्दीका अधिकांश भूभागका साथै बागलु, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देख्न सकिन्छ । बेनपा–३ का वडा सदस्य रत्न जिसीले भने, ‘म्याग्दीको प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रमबाट बेलढुङ्गा करीब ४५ मिनेटको दूरीमा छ, यहाँ रहेको विशाल चट्टानबाट विभिन्न हिमशृङ्खला, भौगोलिक विविधता, चार जिल्लाका दर्जनौं ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ ।’ म्याग्दी र बागलुङ जिल्लाको सिमानामा रहेका ठूला चारओटा चट्टान पार गरेपछि ‘बेलढुङ्गा’ मा पुग्न सकिन्छ । बेलढुङ्गामा पुग्नुअगाडि धार्मिक स्थल स्वर्गाश्रम, तपस्या स्थल, प्राचीनकालीन अवस्थामा निर्मित पोखरी, विश्रामस्थलसमेत देखिने उनले बताए । पदयात्रामा रमाउने आन्तरिक पर्यटकले घना बस्तीलाई छिचोल्दै पहाडको शिरमा रहेको विशाल चट्टानमा बसेर दृश्य अवलोकन गर्न पाउँछन् । यो नै यहाँको प्रमुख आकर्षण रहेको जिसीको भनाइ छ । बेलढुङ्गा आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, नीगिरिलगायत दर्जन हिमशङ्खला, लालीगुराँसको घना जङ्गल, वन्यजन्तुको बासस्थानका साथै मनोरम दृश्यहरू देखिन्छ । जङ्गलको बीचमा रहेको अग्लो ढुङ्गासम्म पुगेपछि त्यहाँ करीब ३० जना बस्न मिल्ने ठाउँसमेत रहेको स्थानीय युवा तारामिलन छन्त्यालले बताए । गोलो आकारको ढुङ्गाको माथिल्लो भागमा बसेर मिनी वनभोजको समेत आयोजना गर्न सकिन्छ । विनाशकारी भूकम्पले पनि ढुङ्गालाई कुनै असर नगरेको उनको भनाइ छ । जङ्गलको माथिल्लो भागमा रहेको ढुङ्गामा धेरै मान्छे बस्दा हल्लिएको अनुभुति हुने गरेकाले पनि एकपटक पुग्नेले पटकपटक पुग्ने इच्छा राख्ने गर्छन् । प्राचीनकालमा तपस्या गर्न गएका सप्तऋषिहरूले ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्तऋषि बेलढुङ्गासमेत भन्ने गरिन्छ । ती स्थानहरू अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । जोखीमपूर्ण तरीकाले पुगे पनि फर्कने बेलामा सहज हुने गरेको स्थानीयले बताउँछन् । ‘ढुङ्गामा पुगेपछि हल्लिएको महसुस हुन्छ । डोरीजस्तै बनेर बसेका नियालोको सहारा लिनुपर्छ’ स्थानीय युवाले भने । जिल्लामा विभिन्न प्रजातिका गुराँस फुल्ने स्वर्गाश्रमआसपासका क्षेत्रमा पक्की पदमार्ग, खानेपानी, वनभोजका लागि समेत आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिइएको वडा अध्यक्ष पदम पुनले बताए । ‘पर्यटकीय र धार्मिकस्थलको प्रचारप्रसारलाई प्राथमिकता दिइएको छ । वडास्तरको बजेटबाट अपुग हुने भएकाले पनि नगरपालिकाबाट थप बजेट माग गरेका छौ,’ पुनले भने । बिदा र फुर्सतको समयमा परिवार तथा समूह बनाएर भ्रमण गर्ने गन्तव्यको रूपमा विकास गर्न प्रचारप्रसारका लागि बजेट विनियोजन गरिने उनको भनाइ छ । उनले प्राचिनकालमा भकिम्लीका अग्ला पहाडमा समेत गुफा बनाएर तपस्या गरेका स्थानहरू समेत रहेकाले पनि मर्मत तथा अवलोकन गर्न जान मिल्ने गरी पदमार्ग बनाउने प्रतिबद्धता व्यक्त गरे । बेनी नगरपालिकाले समेत नगरभित्रका पर्यटकीयस्थलको प्रचारप्रसारका साथै आवश्यक पूर्वाधार विस्तारमा प्राथमिकता दिने जनाएको छ । नगरभित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार र पूर्वाधार विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भिœयाउने नगरपालिकाले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)